भैरहवा, ३ असोज ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) बीच प्रहरी कर्मचारीलाई स्वास्थ्य उपचार सेवामा छुट दिने सहमति भएको छ ।
मंगलबार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख (एस.पी.) भरत बहादुर वि.क. र युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर पश्चात सम्झौता पत्र आदानप्रदान गरिएको थियो ।
रुपन्देही जिल्लामा कार्यरत बहालवाला प्रहरी कर्मचारी तथा उनीहरुसँग आश्रित परिवारका सदस्यहरुको स्वास्थ्य उपचार सेवामा छुट दिने सम्झौतापत्रमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर के.सी.ले बताए ।
युसीएमसएसले सामाजिक उत्तरदायित्व बहन गर्न तथा प्रहरी कर्मचारीहरुको मनोबल उच्च राखी हौसला प्रदान गर्न सुविधा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको प्रहरी निरीक्षक के.सी.ले बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क.को अध्यक्षता, युसीएमएस भैरहवाका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.को प्रमुख आतिथ्यता, युसीएमएसका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. सदन मुखी र अस्पतालका प्रशासन संयोजक एवं क्याम्प कोर्डिनेटर तेज के.सी.को विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
के के हुन्छ छुट ?
बहालवाला प्रहरी कर्मचारीहरुका लागि
- साधारण बेड शुल्कमा ५० प्रतिशत
- क्याबिन/डिलक्स बेड चार्ज ३० प्रतिशत
- सघन उपचार (आईसीयू ) बेड चार्जमा २० प्रतिशत
- ल्याब परीक्षणमा ३० प्रतिशत
- रेडीयोलोजिकल परीक्षणमा २० प्रतिशत
- अप्रेशन शुल्क (औषधि र प्रत्यारोपणबाहेकमा २० प्रतिशत
- दाँत चिकित्सासहित विशेष परीक्षण (औषधि र प्रत्यारोपणबाहेक)
मा १० प्रतिशत
- सामान्य दाँत परीक्षण र दाँत झिक्नेमा १०० प्रतिशत
- ओएमएफएस अप्रेशन/अन्य म्याक्सी फेसियल प्रोस्युजर्स (औषधि र
प्रत्यारोपणबाहेक) मा २० प्रतिशत
आश्रित परिवारका लागि
- साधारण बेड शुल्कमा २५ प्रतिशत
- क्याबिन/डिलक्स बेड चार्ज १० प्रतिशत
- सघन उपचार (आईसीयू) बेड चार्जमा ५ प्रतिशत
- ल्याब परीक्षणमा १० प्रतिशत
- रेडियोलोजिकल परीक्षणमा १० प्रतिशत
- अप्रेशन शुल्क (औषधि र प्रत्यारोपणबाहेक) मा १० प्रतिशत
- दाँत चिकित्सासहित विशेष परीक्षण (औषधी र प्रत्यारोपणबाहेक)
मा १० प्रतिशत
- सामान्य दाँत परीक्षण र दाँत झिक्नेमा ३० प्रतिशत