२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

उद्योग व्यापार संगठन रुपन्देहीद्वारा भीम अस्पतालमा रक्तदान

शुक्रवार , आश्विन ५, २०८०

भैरहवा, ५ असोज ।
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन) रुपन्देहीको आयोजनामा शुक्रबार भैरहवामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संगठनको शनिबार हुने १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनको पूर्व सन्धयामा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । रगतको अभावले कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ज्ञवालीले बताए ।

संगठनले वृक्षारोपण, सरसफाई, विपदमा राहत लगायतका कार्यक्रम गर्दै आएको छ । ‘उद्योगी–व्यवसायीको हकहितमा काम गर्ने निजी क्षेत्रको संस्था भए सामाजिक क्षेत्रमा पनि संगठनले काम गर्दै आएको छ, ’ज्ञवालीले भने ।

भैरहवास्थित भीम अस्पतालमा भएको कार्यक्रममा १३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक राम प्रसाद सापकोटाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्श, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले रक्तदान सबैभन्दा उत्तम र मानवीय सामाजिक कार्य भएको बताए । भीम अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका भण्डारीले अस्पताललाई कार्यक्रम गर्ने स्थान रोजेकोमा संगठनलाई धन्यवाद दिए । उनले अस्पतालमा आउने बिरामीलाई रगतका लागि टाढा जान नपरोस् भन्ने उद्देश्यले अस्पतालमै एउटै ब्लड बैंक स्थापना गरिएको बताए । ‘सकभर यही रहेको ब्लड बैंकबाट भीम अस्पतालमा आउने बिरामीलाई रगत उपलब्ध गराउने लक्ष्य छ, ’भण्डारीले भने ।

IMG_9171.JPG

उनले भीम अस्पतालमा आउने बिरामीको संख्या बढ्दै गएकोले अस्पतालले इतिहास रचेको र अस्पतालप्रति नागरिकको विश्वास बढ्दै गएको दावी गरे । उनले सीमित जनशक्तिले अस्पताल व्यवस्थापनमा ग्राहो भइरहेको बताए । अस्पतालको विकासका लागि १ सय बेड क्षमताअनुसार जनशक्तिको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

चेम्बर अफ कमर्श, रुपन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले रक्तदान जीवनदान भन्ने नाराका साथ संगठनले रक्तदान कार्यक्रम गर्दै आएको बताए । उनले वार्षिक कार्ययोजना अनुसार शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । ‘धेरै वर्षअघि रक्तदान कार्यक्रमहरु कम हुँदा रगत पाउनै समस्या थियो, तर अहिले परिस्थिति बदलिएको छ । अहिले विभिन्न संघ–संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन्, ’खत्रीले भने ।

चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन) रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक राम प्रसाद सापकोटाको स्वागत तथा संगठनका महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_9164.JPG
IMG_9139.JPG

उद्योग व्यापार संगठन, रुपन्देहीको १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन शनिबार (भोली) सिद्धार्थनगर नगरपालिका–९ स्थित संगठनको सभाहलमा हुने कोषाध्यक्ष राम मिलन यादवले बताए ।