
शुक्रवार , आश्विन ५, २०८०
बुटवल ,५ असोज ।
लुम्बिनी केबलकार लिमिटेडले टप स्टेशन बसन्तपुरमा साहसिक खेल जीपलाइन सञ्चालनमा ल्याएको छ । ४० लाख लागतमा बनेको जीपलाइन १५० मिटर लम्बाईको छ । एक हप्तासम्म परीक्षण गरेपछि आम सर्वसाधारणका लागि कम्पनीले जीपलाइन नियमित सञ्चालन गरेको हो । सञ्चालनमा आएसंगै जीपलाइनमा चढ्न विशेष गरी युवायुवतीको बढी आकर्षण रहेको कम्पनीले जनाएको छ ।
बुटवलको बमघाटमा रहेको बटम स्टेशनबाट केबलकार चढेर पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुर आउने पर्यटकलाई साहसिक खेलको आनन्द र मनोरञ्जन दिलाउन जीपलाइन सञ्चालन गरेको कम्पनीका इन्जिनियर सनी चौरसियाले बताए । केबलकार चढ्न आउने पर्यटकमध्ये दैनिक सरदर ७० जना जीपलाइन चढ्ने गरेका चौरसियाले बताए । जीपलाइनमा ६ जनाले रोजगारी पाएका कम्पनीले जनाएको छ ।
केबलकारमा आउने आन्तरिक र विदेशी पर्यटकको मनोरञ्जनका लागि कम्पनीले थप डेढ करोड बढी लगानीमा स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान र सेल्फी जोन लगायतका संरचनाहरु बनाउने प्रकृयामा रहेको इन्जिनियर चौरसियाले बताए । आगामी २ महिनाभित्र यी सबै संरचनाहरु तयार गरी पर्यटकहरु दिनभर भुल्न सकिने वातावरण बनाउने उनले बताए ।
जीप लाइन चढ्नेहरुले यो खेल निकै रोमाञ्चक र रमाइलो लागेको प्रतिक्रिया दिने गरेका छन् । उनीहरुले केबलकार सञ्चालनले बुटवलमा नयाँ र आकर्षक पर्यटकीय गन्तव्य थपिएको र यसले प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि बुटवलको चहलपहल र व्यापारमा केही मात्रामा सुधार भएको बताएका छन् ।
साढे ३ महिनामा ७४ हजारले चढे केबलकार
केबलकार सञ्चालनमा आएको साढे ३ महिनामा ७४ हजार ५० जना पर्यटकले केबलकार चढेका कम्पनीका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । जसमा ४ हजार ५५ जना भारतीय र १९ जना तेस्रो मुलुकका रहेका छन् ।
जीपलाइनसँगै स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान पनि तयार भएपछि बसन्तपुर स्वदेशी र विदेशी पर्यटकको आकर्षण र रोजाको गन्तव्य बन्ने कम्पनीको विश्वास छ । समुद्री सतहबाट १२ सय मिटर उचाईमा रहेको बसन्तपुरमा गर्मी मौसममा तराईमा भन्दा झण्डै १० डिग्री सेल्सियस तापक्रम कम हुने हुँदा शीतल हुने हिउँदमा तराईमा हुस्सु र जाडो हुँदा घाम लागेर न्यानो हुने भएकाले बसन्तपुर पर्यटक मात्र नभई सर्वसाधारणको पनि घुम्न जाने रोजाईको थलोमा पर्ने छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकाल नेतृत्वको आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको केबलकारको टप स्टेशनमा बनेको कामाख्यादेवी मन्दिर र सय वर्ष पुरानो दुर्गा मन्दिर पनि धार्मिक हिसाबले केबलकारको विशिष्ट आकर्षण बनेका छन् । कामाख्या मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य संख्यामा दर्शनार्थीहरु आउने गरेका कम्पनीले जनाएको छ । कामाख्या देवीको दर्शनले मनोकामना पुरा हुने र जीवनमा आइपर्ने संकटबाट मुक्ति पाइने भएकाले दर्शन गर्न आएको व्यासाचार्य पण्डित नारायणप्रसाद पोखरेलले बताए ।
टप सटेनशमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनोसहित पाँचतारे होटेल बनाउने योजना छ ।
केबलकारले प्रत्येक टिकट मुल्यको २ प्रतिशत सेवा शुल्कवापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिंदै आएको छ । २.६ किलोमिटर दुरीको लुम्बिनी प्रदेशकै पहिलो केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो । केबलकारले अधिकांश स्थानीयसहित हाल करिब १ सय जनालाई रोजगारी दिएको छ भने पाँचतारे होटेल सञ्चालनमा आउँदा ५ सय बढीले रोजगारी पाउनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij