
शुक्रवार , आश्विन ५, २०८०
भैरहवा, ५ असोज ।
जनमत पार्टीले विभिन्न विषयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याललाई ध्यानाकर्षण गराएको छ । पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवको नेतृत्वमा शुक्रबार भैरहवास्थित जिल्ला प्रशासन कार्यालय, रुपन्देही पुगेको टोलीले नवआगन्तुक सिडिओ आचार्यलाई स्वागत गर्दै ध्यानाकर्षण गराएको हो ।
ईलाका प्रशासन कार्यालय मझगावामा विगत १ महिनादेखि कामकाज ठप्प रहेकोले मर्चवार क्षेत्रका जनता तथा सेवाग्राहीलाई नागरिकतादेखि विभिन्न सेवाबाट वञ्चित हुनुपरेकोले अविलम्ब सम्पूर्ण सेवाहरु सञ्चालन गर्न माग गरिएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले बताए ।
त्यस्तै मर्चवारी गाउँपालिका वडा नम्बर १ स्थित खैराघाटस्थित नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले डुंगा सञ्चालनमा रोक लगाएपछि नागरिकलाई भारतीय बजार जान र फर्कन निकै सास्ती भएको यादवले बताए । उनले भने, ‘एस.एस.बी.ले नदीमा डुंगा सञ्चालनमा रोक लगाउँदा नागरिक जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन् । उनले यसका लागि भारतीय पक्षसँग छलफल तथा समन्वय गरी डुंगा सञ्चालन गर्न माग गरे ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर ५ का नागरिकको सहजताका लागि गैडहवा गाउँपालिका क्षेत्रमा ईलाका प्रशासन कार्यालय सञ्चालनका लागि पहल गरिदिन आग्रह गरिएको जनात शिक्षक संघका केन्द्रीय सदस्य रामदेव यादवले बताए ।
प्रमुख जिल्ला अधिकारी अर्यालले यथाशिघ्र समस्या समाधानका लागि अघि बढ्ने आश्वासन दिने नेता भोपेन्द्र प्रसाद यादवले जानकारी दिए ।
भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामकेश गुप्ता, केन्द्रीय सदस्य रामु यादव, राम अवध गुप्ता, किरन गुप्ता, जनमत शिक्षक संघका केन्द्रीय सदस्य रामदेव यादव, युवा नेता रुपचन यादव, रमाशंकर यादव, मुरली कुर्मी, सुवास यादव, रामु लोधलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij