२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

होटल एशोसिएसन रुपन्देही गठन, उद्योगको मान्यता दिन माग 

शनिवार , आश्विन ६, २०८०

बुटवल, ६ असोज । 
रुपन्देहीमा होटेल व्यवसायीहरु मात्रै आबद्ध छुट्टै नयाँ संस्था गठन भएको छ । जिल्लामा होटेल र रेष्टुंरा मिश्रित आधा दर्जन बढी संस्था क्रियाशील भए पनि पर्यटकस्तर र तारे होटलहरु मात्रै आबद्ध जिल्लाव्यापी संस्था नभएकाले विशिष्टीकृत संस्थाको रुपमा काम गर्ने गरी होटल एशोसिएसन अफ रुपन्देही नेपाल गठन भएको जनाइएको छ ।

व्यवसायीहरुको बुटवलमा भएको भेलाले क्लब डेनोभोका सञ्चालक प्रविण बहादुर पाठक अध्यक्ष रहेको होटल एशोसिएसन अफ रुपन्देही नेपाल तदर्थ समिति गठन गरेको हो ।

होटल एशोसिएसन नेपाल (हान) मा आबद्ध हुने गरी गठन भएको एशोसिएसनमा रुपन्देहीका बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, देवदह, सैनामैना र लुम्बिनी साँस्कृतिक गरी ६ वटै नगर र छपिया क्षेत्रका पाँचतारे सहित करिब ५० वटा होटेल आबद्ध रहेका छन् ।  आफ्नै प्रोपर्टी (जग्गा) मा बनेका र अधिकांश एकल लगानीका स्तरीय  होटेलहरु मात्रै एशोसिएसनमा आवद्ध रहेका छन् ।

एशोसिएसनको उपाध्यक्ष दिलिप गौचन, महासचिव विकास पाण्डे, कोषाध्यक्ष पदम केसी, सह–कोषाध्यक्ष प्रणदा दीक्षित तथा सदस्यहरुमा प्रविण शाक्य, ध्रुव पाण्डे, शोभाखर बन्जाडे र टेकनाथ बस्याल रहेका छन् । एशोसिएसनमा अन्य होटेलहरु पनि थपिने क्रममा रहेका संस्थाले जनाएको छ ।

एशोसिएसनले व्यवसायिक एकता र सहकार्य गर्दै आर्थिक मन्दीको मारमा परेका होटल व्यवसायलाई चलायमान र मर्यादित बनाउने अध्यक्ष पाठकले बताए । होटेल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिलाउन प्राथमिकताका साथ काम गर्ने पाठकले बताए । ‘उद्योगको मान्यता नपाउँदा करोडौंदेखि अर्बौं लगानी भएको व्यवसायले सरकारबाट विद्युत महसुल लगायतका कुरामा सहुलियत र राहत पाउन सकेको छैन’–अध्यक्ष पाठकले भने–‘सरकारले मुलुकको समृद्धिको आधार पर्यटन भन्ने तर पर्यटकस्तर र तारे होटेलहरुलाई उद्योगको मान्यता दिन पनि कन्जुस्याई गर्नु बिडम्वना हो ।’

कोरोना महामारीपछि थला परेको होटेल व्यवसाय आर्थिक मन्दीले थप संकटमा परेको तर सरकारले कुनै राहत दिन नसकेको अध्यक्ष पाठकले गुनासो गरे । व्यवसायिक एकता र सहकार्य गर्दै व्यवसायलाई चलायमान र मर्यादित बनाउन सरकारसंग नीतिगत सुधारका लागि पहल गर्ने उनले बताए ।

सरकारको नीति तथा कार्यक्रम, बजेट निर्माण र पर्यटन सम्बन्धी नीति निर्माणमा होटेल एशोसिएसनको प्रतिनिधित्व अनिवार्य गराउन तीनै तहका सरकारसँग पहल गर्ने एशोसिएसनको मुख्य उद्देश्य रहेको उपाध्यक्ष दिलिप गौचनले बताए ।

भेलामा सहभागी संस्थाका सल्लाहकारहरु एवं हानका केन्द्रीय सदस्य गोपाल राना, अग्रज व्यवसायी माधव नेपाल, महेन्द्रनारायण श्रेष्ठ लगायतले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन, बुटवल–नारायणगढ सडक निर्माण छिटो पूरा गराउन सरकारलाई दबाव दिनुपर्ने खांचो औंल्याए ।
बुटवल–नारायणगढ सडक निर्माण समयमा पूरा नहुँदा र विमानस्थल पूर्ण क्षमतामा नचल्दा ५० प्रतिशत व्यापार घटेको व्यवसायीको गुनासो छ ।

रुपन्देहीका ठूला होटेलहरु भारतीयका लागि विवाह–व्रतबन्ध पर्यटन (माइस टुरिज्म)  को माध्यम हुन सक्ने भएकाले सरकारले नीतिगत सुधार गर्नुपर्ने व्यवसायीको माग छ ।

भारतीय पर्यटकलाई सीमा नाका, अध्यागमन कार्यालय र नेपाल प्रवेश गरेपछि सडकमा ट्राफिक प्रहरीबाट सम्मानजनक व्यवहारको साटो दुःख दिने काम भएको भन्दै यसलाई रोक्नुपर्ने, भारतीय पर्यटकका गाडीलाई रुपन्देही जिल्लाभर चल्न दिनुपर्ने, भारु २५ हजार मात्र साथमा लिएर हिंड्न पाउने प्रावधान अव्यवहारिक भएकाले सरकार स्तरमा वार्ता गरी सहज बनाउनुपर्ने व्यवसायीको माग रहेको महासचिव विकास पाण्डेले बताए ।

अन्तर्राष्ट्रिय हवाई भाडा दरमा नेपाली र विदेशीका बीच ठूलो अन्तर हुँदा विदेशी पर्यटकमा नकारात्मक असर परेकाले विदेशी पर्यटकका लागि हवाई भाडा दर घटाउन एशोसिएसनले पहल गर्ने कोषाध्यक्ष पदम केसीले बताए ।

यी हुन् एशोसिएसनमा आबद्ध होटेलहरु :

क्लब डेनोभो, होटेल द फ्लामिंगो, डार्सिज इन्टरनेशनल होटेल, पाल्म इन्टरनेशनल होटेल, होटेल फर्चुन, मणिग्राम विश्राम बाटिका, होटेल न्यू इरा, ड्रिम इन्टरनेशनल होटेल, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, पवन इन्टरनेशनल होटेल, लुम्बिनी प्यालेस रिसोर्ट, द एसआर होटेल, होटेल रोजउड, एशिएन होटेल, होटेल एभिन्यू, एभरेष्ट इन्टरनेशनल होटेल, दर्पण रिसोर्ट, होटेल एरोमा, महाराजा रिसोर्ट, होटेल सिद्धार्थ भिलासा, होटेल पौवा, होटेल न्यू इरा ,ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, साकिया होटेल, होटेल सनशाइन, होटेल क्रिस्टल, होटेल लिटिल बुद्ध, होटेल टुलिप, होटेल हिडन प्यालेस, होटेल ओजान २४, होटेल सयपत्री, सखिया फिस रिसोर्टलगायत ।