२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

भौतिक पूर्वाधार विकास सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री पौडेल

बुधवार , माघ १४, २०७७

बुटवल, १४ माघ । 
रुपन्देहीको बुटवलस्थित तिनाउ र दानव नदीमा बनेका ३ वटा पक्की पुलको बुधबार संघीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट उद्घाटन गरिएको छ । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सिमाना मगरघाटबाट मोतीपुरको रानीगञ्ज जोड्ने, देवीनगरबाट बुद्धनगर जोड्ने र नयाँगाउबाट सेमलारको बेलभरिया जोड्ने ३ वटा पुलको बुधबार अर्थमन्त्री पौडेलले उद्घाटन गरेका हुन् ।

तिनाउ र दावन पारीका दर्जनौं बस्तीहरुलाई जोड्ने ती पुलहरु एक वर्ष अघि नै निर्माण सम्पन्न भएका थिए । यसअघि तिनाउ र दानव नदीमा पुल नबन्दा साविकका सेमलार र मोतीपुर गाविसका विभिन्न बस्तीहरु बुटवल उपमहानगरमा गाभिए पनि सहज पहुँचको अभावमा दुर्गम जस्तै मानिन्थे । यहाँका बस्तीहरुबाट विशेष गरी वर्षायाममा बुटवल आवतजावत गर्न निकै समस्या हुने गरेको थियो भने हिउँदमा समेत सहज यातायातको पहुँच थिएन । विगतमा बुटवल आउन घण्टौं लाग्ने गरेका स्थानीयहरु बताउँछन् ।

ती पुलहरु उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले बुटवलसंग तिनाउ पारीका बस्तीहरुको सम्बन्ध अब प्रत्यक्ष रुपमा स्थापित भएको र गाँउ र शहरको विभेद हटेको बताए । रुपन्देहीमा सुरु भएको विकासको महाअभियान अन्तर्गत ती पुलहरु निर्माण भएको र यसको संरक्षण र सदुपयोगको दायित्व स्थानीयलाई रहेको उनले बताए । विकासको यो महाअभियानलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री पौडेलले जनताको विकासको चाहनालाई सार्थक बनाउँदै जाने आफ्नो लक्ष्य रहेको जानकारी दिए । 

विगतमा रुपन्देहीको लागि वरदान र अभिसाप दुवै बन्न सफल तिनाउ—दानव नदी आसपासको क्षेत्रलाई मानव बस्न योग्य सुन्दर बस्तीको रूपमा विकास गर्ने उद्देश्य रहेको समेत बताउँदै उनले भने–अव विकासको यो महाअभियान कसैले रोकेर रोकिन्न । मगरघाटको पुल २०७३ सालमा सुरू भइ २०७६ सालमा निर्माणसम्पन्न भएको थियो । योगीकुटी र शिवनगर जोड्ने १ सय ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको यो पुलको लागत २१ करोड ४९ लाख रहेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिएका छन् ।