२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

उद्योगी–व्यवसायीको आग्रह : भारतीय पर्यटकलाई अनावश्यक दुःख नदिऔं

मंगलवार , आश्विन ९, २०८०

भैरहवा, ९ असोज ।
उद्योगी–व्यवसायीले पर्यटन क्षेत्रको विकासका लागि चेकजाँचको नाममा भारतीय पर्यटकलाई अनावश्यक दुःख दिन नहुने बताएका छन् । उनीहरुले नेपाल आउने भारतीय पर्यटकलाई झण्झटिलो व्यवस्था रहेकाले सहज वातावरण बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग भेटघाट तथा छलफल कार्यक्रममा उद्योगी–व्यवसायीले मुलुकको विकासका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेकोले यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भारतीय पर्यटकलाई सहजताको लागि सवारीसाधनको रुट परमिट लिन सीमा नाकामै व्यवस्था हुनुपर्ने माग गरे । उनले दुई–तीन पटक÷स्थानमा गरिने चेकिङले केही भारतीय पर्यटकले केही असहजता महसुस गर्ने गरेको बताए । उनले भने, ‘अन्य पर्यटकको तुलनामा भारतीय पर्यटकले नेपालमा बढी खर्च गर्छन् र उनीहरुको आवातजावत बढी हुन्छ ।’ 

अध्यक्ष श्रेष्ठले सीमापारीबाट घरायसी प्रयोजनका नाममा आउने सामान भन्सार गरेर मात्रै ल्याउने व्यवस्थालाई निरन्तरता दिनुपर्ने माग गरे । उनले भने, ‘सिडिओसाब यहाँको कार्यकालमा यो कार्य अझ व्यवस्थित होस् । ’ 

भारतीय भूमिमा सातामा दुई दिन लाग्ने फरेनी बजारबाट करौडौंको सामान बिना भन्सार नेपाल भित्रिने भएकाले उक्त बजार जान निरुत्साहित गर्नुपर्ने उनको माग छ । पुनः बजारमा चहलपहल बढेको उनले बताए । उनले प्रशासनसँग सहकार्य गर्दै अगाडि बढ्ने र प्रशासनबाट सहयोगको अपेक्षा राखेका बताए । उनले बजार चलायमान हुन नसकेको बताए । अध्यक्ष श्रेष्ठले बजार अनुगमनलाई निरन्तरता दिनुपर्ने भए पनि चाडपर्वको समयमा अनुगमनको नाममा व्यवसायीलाई हतोत्साहित गर्न नहुने बताए ।

त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्य व्यवसायी र प्रशासनबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्नेमा जोड दिए । उनले गलत कार्य गर्ने व्यवसायीलाई सिद्धार्थ उद्योग वाणिज्य संघले संरक्षण नगर्ने बताए । उनले भने, ‘जिल्ला प्रशासन कार्यालयसँग हातेमालो गर्दै संघ अघि बढ्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले भारतबाट नेपाल आउने मालबाहक सवारीसाधन भारतीय भूमिमा बिहान बहानामा केही दिन रोकिदा उद्योगी व्यवसायी मारमा परेको बताए । उनले समस्या समाधानका लागि भारतीय पक्षसँग पहल गरिदिन प्रमुख जिल्ला अधिकारी अर्याललाई आग्रह गरे । उनले कहिलेकाही फलफूल, तरकारी लगायत वस्तु बोकेको सवारीसाधन धेरै सीमामा रोकिदा सामान बिग्रने गरेको बताए । उनले भने, ‘व्यवसाय चलायमान बनाउन चुनौती छ । राम्रो वातावरण सिर्जना गर्नुपर्छ ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले उद्योगी–व्यवसायीले संघसँग धेरै अपेक्षा राखेको बताए । उनले पर्यटन क्षेत्रको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । पर्यटकलाई एकै ठाउँमा चेकजाँच गर्नुपर्ने उनको भनाइ छ ।

संघका पूर्वअध्यक्ष कूल प्रसाद न्यौपानेले सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले अरबौं लगानीमा निर्माण भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल हुनुपर्ने माग गरे ।

संघका पूर्वअध्यक्ष महेन्द्र कुमार श्रेष्ठले व्यवसायीबाट सापटी लिएर जाने केही व्यक्तिले पनि व्यवसायीलाई ‘मिटरब्याजी’ को रुपमा हेर्नु दुःखद रहेको बताए । उनले व्यवसायीमाथि स्थानीय सरकारबाट अनावश्यक कर थोपर्ने काम भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले अहिले निजी क्षेत्रको अवस्था चिन्ताजनक रहेको बताए । उनले भने, ‘युवा जनशक्ति पलायन भइरहेका छन्, व्यापार छैन, उपभोक्ता छैनन् । ’ उनले सीमा नाकामा एकपटक पर्यटकलाई चेकजाँच गरेपछि निर्वाध जान दिनुपर्नेमा जोड दिए । उनले भने, ‘बाटोबाटोमा पर्यटकलाई स्वागतको सट्टा चेकजाँच भइरहेको छ । एकपटक चेकजाँच भइसकेपछि सवारीसाधनमा स्टीकर टाँस्नुपर्छ र सहज वातावरण बनाउनुपर्छ । ’ अध्यक्ष शर्माले लुम्बिनीमा सञ्चालित गुम्बामा पर्यटक राखिदा होटल व्यवसाय धरासायी भएको बताए ।

IMG_9585.JPG

सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेले सीमा नाकामा आउने व्यक्तिहरुको कम्तीमा परिचयपत्र हेर्ने व्यवस्था गर्नुपर्ने बताए ।

मलाई गडबड गर्ने छुट छैन : सिडिओ अर्याल

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले आफूलाई गडबड गर्ने छुट नरहेको बताए । उनले भित्रभित्रै एउटा कुरा र बाहिर अर्को गर्ने प्रवृत्ति आफूभित्र नरहेको बताए । प्रजिअ अर्यालले राष्ट्रिय अर्थतन्त्रको दुईतिहाई हिस्सा निजी क्षेत्रले ओगटेकोले राष्ट्रको मेरुदण्ड निजी क्षेत्र उपेक्षित भए राष्ट्र अघि बढ्न नसक्ने बताए ।

उनले भने, ‘यो जिल्लाका सरोकारसँग अलग बस्ने मलाई छुट छैन । यहाँहरुले निरन्तर खबरदारी र सहजीकरण गर्नुहोला, इमान्दार प्रयत्नमा कुनै कन्जुस्याई हुँदैन । विकृति नियन्त्रणका लागि पहिला आफू विकृतिबाट मुक्त हुनुपर्छ । विकृतिको चाङमा बसेर विकृतिको कुरा गर्नु उचित हुँदैन । ’

बजार अनुगमन गर्दा सम्बन्धित सरोकारवालासँग छलफल गरिने उनको भनाइ छ । प्रजिअ अर्यालले व्यवसायीलाई तर्साउन नभइ व्यवसायिक शुद्धीकरण र विकृति नियन्त्रणका लागि अनुगमन गरिने बताए ।