
मंगलवार , आश्विन ९, २०८०
रुपन्देही, ९ असोज ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् लुम्बिनी प्रदेश (नाट्टा) को आयोजनामा रुपन्देहीको बुटवलमा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिका–३ पुलचोकस्थित दुर्गा मन्दिरमा गरिएको महाआरतीमा बुटवल क्षेत्रका पर्यटन व्यवसायी तथा धर्मअनुरागीहरु सहभागी भएका थिए ।
४४ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा सन्ध्याकालीन महाआरती कार्यक्रम गरिएको र अहिले देखिएको सहभागीताले यो क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना प्रष्ट देखिएको नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् ।
बुटवलमा भएकोे महाआरती कार्यक्रमले यो क्षेत्रको पर्यटन प्रवद्र्धनलाई महत्वपूर्ण सहयोग गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले नेपाल भारतको धार्मिक पर्यटनको केन्द्र बनाउने गरी योजना बनाउन पर्यटन व्यवसायीलाई आग्रह गर्दै आफूले पूर्ण साथ दिने प्रतिवद्धता व्यक्त गरे । उनले भारतीय पर्यटकलाई आर्कषण गर्दै योजना बनाउनुपर्ने र त्यसमा उपमहानगरले पूर्ण साथ दिने बताए ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले उपमहानगरले महाआरतीका लागि बजेट निर्धारण गरिसकेकाले धार्मिक संघ–संस्थाहरुलाई सहकार्यका लागि आग्रह गरिन् ।
कार्यक्रमको पर्यटन विकास परिषद लुम्बिनी प्रदेश प्रवद्र्धक रहेको थियो भने बुटवल उपमहानगरपालिकाले सहकार्य गरेको थियो ।
महाआरती कार्यक्रममा जगतगुरु अनन्तश्री विभूषित ‘बालसन्त’ मोहनशरण देवाचार्य महाराजले यो क्षेत्रको ऐतिहासिक धार्मिक महत्वको बारेमा प्रकाश पारेका थिए । नाट्टाले धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्षदेखि महाआरती कार्यक्रम गर्दै आएको छ ।
अध्यक्ष पन्तले धार्मिक तथा साँस्कृतिक पहिचान र प्रवद्र्धनबाट यस क्षेत्रको पर्यटन उद्योगलाई चलायमान बनाउन तथा बुटवलको ऐतिहासिकतालाई प्रचारमा ल्याउन सन्ध्याकालीन आरतीले महत्वपूर्ण भूमिका खेल्ने र यसलाई निरन्तरता दिने बताइन् ।
यस क्षेत्रमा हुने धार्मिक र साँस्कृतिक कार्यहरुले छिमेकी देश भारतबाट पनि पर्यटक तान्न यसले विशेष भूमिका खेल्ने विश्वासकासाथ सन्ध्याकालिन आरती आयोजना गर्न लागिएको उनले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij