
बुधवार , आश्विन १०, २०८०
भैरहवा, १० असोज ।
‘टुरिजम एण्ड ग्रीन इन्भेस्टमेन्ट’ भन्ने मूल नाराका साथ ४४ औं पर्यटन दिवस लुम्बिनीमा सम्पन्न भएको छ । विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी विकास कोष तथा होटल व्यवसायी संघ नेपाल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला संस्थाले लुम्बिनी आएका विदेशी पर्यटकहरुलाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले स्वागत एवं सम्मानसहित मायाको चिनो उपहार प्रदान गरेर धुमधामका साथ मनाएको छ ।
लुम्बिनी आएका पर्यटकलाई बुधबार लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई, कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीलगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गरेका थिए ।
लुम्बिनी विकास कोषको आयोजना तथा लुम्बिनी होटल संघ, नेपाल, लुम्बिनी पर्यटन व्यवसायी संघ, लुम्बिनी, बृहत्तर लुम्बिनी क्षेत्र स्थानीय पथ प्रदर्शक संस्था लुम्बिनी, महामाया रिक्सा चालक संघ, लगायत उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष डा. लामाले पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।
शुभकामनाको क्रममा उपाध्यक्ष डा.लामाले लुम्बिनीमा लाखौं धार्मिक पर्यटक भित्राउने लक्ष्य रहेको बतए । उनले अन्तर्राष्ट्रिय पर्यटकलाई आवश्यक सुविधा उपलब्ध गराउन र सहजीकरण गर्न, आन्तरिक पर्यटनलाई पहिलो प्राथमिकता दिन समेत आग्रह गरे । उनले लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउँदै लुम्बिनी भ्रमणका लागि आह्वान गरे । उनले विश्वले बुद्व जन्मस्थल लुम्बिनीलाई बौद्विष्टहरूको भ्रमण पहिलो केन्द्र बनाउन समेत आग्रह गरे ।
त्यस्तै लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले आगामी दिनमा पर्यटन दिवस अझ भव्यताका साथ मनाउनुपर्ने बताए । उनले लुम्बिनीमा पर्यटक स्वागत गर्न पाउनु सौभाग्य भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij