
बुधवार , माघ १४, २०७७
बुटवल, १४ माघ ।
लुम्बिनी प्रदेशमा छरिएर रहेका अटोमोबाइल्स व्यवसायीहरुलाई एकतावद्ध गर्दै हकहित र व्यवसाय संरक्षणका लागि स्थापना भएको लुम्बिनी अटो मोबाइल्स एशोसियसन अफ नेपालको पहिलो साधारणसभा तथा अधिवेसन माघ १७ गते हुने भएको छ ।
बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशभरीको प्रतिनिधित्वसहित अटोमोबाइल्स एशोसियनको अधिवेशनको तयारी पुरा भएको तदर्थ समितिका संयोजक अध्यक्ष गणेश प्रसाद भट्टराईले बताए । अटो मोबाइल्ससंग सम्बन्धित विभिन्न कम्पनी तथा व्यवसायीहरुको हकहित र व्यवसाय संरक्षण र प्रवद्र्धन गर्ने मुख्य उद्येश्यसहित स्थापना गरिएको अध्यक्ष गणेश प्रसाद भट्टराईले बताए । दर्ताप्रक्रिया पुरा भएसंगै कोभिड–१९ को कारण विस्तारको काम रोकिएको भन्दै उनले स्वस्थ्य मापदण्ड पुरा गरी कार्यक्रम गर्न लागेको उनले बताए । माघ १६ गते व्यवसायीहरुलाई भिसिटिएस तालिम र १७ गते साधारणसभा तथा अधिवेशन गरिने उनले बताए । व्यवसायीहरुको समस्यालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिवद्धता समेत उनले जनाए ।
अटोमोबाइल्ससंग सम्बन्धित विभिन्न प्रकारका कर भिसिटिएस भन्सार सम्बन्धित समस्यालाई सम्बोधन हुने गरी तालिम सेमिनार तथा अटो प्रदर्शन गरिने उनले बताए । देशमा ढुवानी तथा सवारीसाधनहरुको समुचित विकास र विस्तारका लागि आवश्यक पर्ने सम्पुर्ण पार्टपुर्जा, उपकरण, अटोमोटिभ इञ्जिन र अटोमोबाइलमा प्रयोग हुने सबै प्रकारका बस्तुहरु व्याट्री, टायर, लुब्रिकेन्टस तथा अटोमोबाइल्स स्पेयर पार्टसको आयात एवं उत्पादन सम्बन्धि व्यवसायिक विकास, दक्षता एवं राज्यप्रतिको दायित्वलाई आत्मसात गर्दै राष्ट्रिय अर्थतन्त्र योगदान पु¥याउने आफुहरु लागेको उनले बताए ।
सामानको विक्री गर्दा बिल हुने तर एउटा सवारी खराब भए त्यस अवस्थामा प्रयोग हुने सामग्रीहरुबारे भिसिटिएसमा उल्लेख नहुँदा समस्या हुने महासचिव रोशन पाण्डेले बताए ।
व्यवसायीहरुलाई यो विषय मुख्य समस्या रहेको उनले बताए । व्यवसायीहरुलाई तालिम दिएर अघि बढाउन खोजिएको उनले बताए । त्यसै गरी अण्डर बिलिङको समेत समस्यालाई विभिन्न व्यवसायिक संघ–संस्थाहरुबाट समन्वय गरी समाधानतर्फ अघि बढेको उनले बताए । दाङ, नेपालगंज, नवलपरासी, कपिलस्तु, पाल्पा लगायत स्थानहरुमा समेत सदस्यता बढाउने काम अघि बढेको उनले बताए ।
लुम्बिनी प्रदेश अन्तरगत रुपन्देही यातायात कार्यालयको तथ्यांक अनुसार हालसम्म नीजि र सरकारी मोटरसाइकलको संख्या ६ लाख ५९ हजार १ सय १, ठुला तथा मझौलाको संख्या १ लाख २ हजार १ सय ६८ रहेको छ । गत वर्षको तथ्यांक अनुसार १ अर्ब १५ करोड, ८८ लाख ३१ हजार ३ सय ९६ रुपैया राजश्व संकलन भएको देखिन्छ । बढ्दो सवारी चापलाई मध्यनजर गरी वातावरणमा हुने प्रदुषण न्युनीकरणका लागि सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुसंग सहकार्य र समन्वय गर्न जरुरी रहेको उनले बताए ।
तदर्थ समितिमा वरिष्ठ उपाध्यक्षमा सन्तोष पाण्डे, उपाध्यक्ष विजय कुमार गुप्ता, कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी, सचिव रामु बेल्बासे, सदस्यहरु राधाकृष्ण देउला, प्रवेश भट्टराई र चिन्तामणी पाण्डे रहेका छन । नेपाल अटो डिलर एशोसियसन अफ नेपाल (नाडा) को संस्थागत सदस्य समेत रहेको छ । अटोमोबाइलमा हाल ५० जना सदस्यहरु आवद्ध छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij