
शुक्रवार , आश्विन १२, २०८०
बुटवल, १२ असोज ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले समस्याग्रस्त अवस्थामा रहेको यातायात क्षेत्रको समस्या समाधान र प्रवद्र्धनको लागि पहल गर्ने बताएका छन् । मुलुकमा रोजगारी र स्वरोजगारको सिर्जना गरेको यातायात क्षेत्रको विकासमा नीतिनिर्माता र कानून निर्माणमा पहलकदमी लिने उनले प्रतिवद्धता व्यक्त गरे ।
बिहीबार बुटवलमा भएको राष्ट्रिय यातायात उधमशिल मजदुर भलाई कोषको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन गर्दै सभामुख घर्तीमगरले स्वरोजगार उद्यमी र मजदूर वर्गको उत्थानको हितमा अहिलेको संविधान र प्रदेशले बनाएको ऐन कानुन रहेको बताए । उनले समस्या भए समाधानको पनि बाटो खोलिने बताए ।
राष्ट्रिय उत्पादन र अर्थतन्त्रलाई सुधार नगर्दासम्म मुलुकमा आर्थिक समृद्धि आउन नसक्ने भएकाले त्यसतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्नेमा सभामुख घर्ती मगरले जोड दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यातायात क्षेत्रले युवा रोजगार तथा स्वरोजगारको प्रवद्र्धन गरी युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले अहिलेको अवस्थामा ३० प्रतिशत मात्र गाडी चलेका कारण यातायात मजदूरको रोजगारीको अवसर गुम्दै गएको बताए । कोभिडपछि सम्पूर्ण क्षेत्र धरासायी भएकाले त्यस तर्फ सरकारले ध्यान दिनुपर्ने बताए । उनले धरासायी भइ बन्द भएका सवारीसाधनको दाखिला खारेजको सहजीकरण गरिदिन समेत सरकारसँग आग्रह गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देही जिल्ला संयोजक नारायण जि.सी.(निर्मल) ले कोभिडको कारण सिंगो विश्व प्रभावित भएको बताउदै उनले समस्याको समाधान गर्न राजनीतिक स्थायीत्व आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्ने यातायात व्यवसायीहरुले यातायात क्षेत्रको समस्या समाधान गर्न प्रदेश यातायात प्राधिकरण गठन गर्नुपर्ने माग गरेका थिए । उनीहरुले यातायात क्षेत्र अरु व्यवसायी भन्दा जोखिम युक्त रहेको बताउँदै उनीहरुले यातायात क्षेत्रको एकीकृत विकास र प्रवद्र्धनको लागि प्रदेशमा प्राधिकरण गठन आवश्यक रहेको बताएका थिए ।
कोषका अध्यक्ष मोहन भुसालको अध्यक्षता, सदस्य होम बहादुर पाण्डेको स्वागत तथा कोषाध्यक्ष माधव प्रसाद श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) जिल्ला उपाध्यक्ष चीन बहादुर गुरुङ, पश्चिम नेपाल बस व्यवसायी संघ प्रा.लि.का निर्देशक रामचन्द्र भुसाल, रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल, बुटवल उद्योग वाणिज्य संघका महासचिव बिमलराज भट्टराई, बुटवल अटो इञ्जिनियरिङ एशोसियसनका अध्यक्ष तुलसी न्यौपाने, बुटवल–३ का अध्यक्ष बिष्णु ढकाल, वडा–११ का कार्यवाहक अध्यक्ष नहकुल शाही, बुद्धभुमि ट्याक्सी सेवा प्रा.लि.का अध्यक्ष गोबिन्द बहादुर कुँवरलगायतले बोलेका थिए ।
अध्यक्षमा पुनः भुसाल
राष्ट्रिय यातायात उधमशिल मजदुर भलाई कोषको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पुनः मोहन भुसालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद सापकोटा, उपाध्यक्षमा महमद कलिम, महासचिवमा प्रकाश रिजाल, सचिवमा होम बहादुर पाण्डे र सह–सचिवमा दिनेश कुमार कसौधन, कोषाध्यक्षमा ओम बहादुर कुँवर निर्वाचित भएको निर्वाचन अधिकृत यानेन्द्र जी.सी. ले जानकारी दिए ।
त्यसै गरी सदस्यहरुमा सन्तराम यादव, शत्रुधन शाह, लक्ष्मण भट्टराई, अशोक बस्नेत, लीलाधर लुइँटेल, पूर्ण बहादुर परियार, लक्ष्मण कार्की, सन्तोष थापा, नमराज रिी र दिपक शर्मा निर्वाचित भएको जी.सीले जानकारी दिए । निर्वाचित सम्पूर्ण कार्यसमिति सबैलाई बिहीबार नै प्रमाण–पत्र प्रदान गरी सपथ ग्रहण गराइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij