
बुधवार , माघ १४, २०७७
बुटवल, १४ माघ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनैतिक स्थायीत्व र विकासका लागि नयाँ जनादेश आवश्यकता भएकोले सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताएका छन् । सरकारलाई घेराबन्दीमा पारेर असफल पार्न खोजिएपछि निर्वाचनमा जानु परेको उल्लेख गर्दै मन्त्री पौडेलले जनताको विकासप्रतिको चाहना पुरा गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।
बुटवल–बेलहिया सडक अन्तर्गत राजमार्ग चौराहदेखि चिडियाखोलासम्मको सडक विस्तार कार्यको शुभारम्भ गर्दै मन्त्री पौडेलले भौतिक पूर्वाधार विकास वर्तमान सरकारको प्राथमिकता रहेको बताए । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नेपाली जनताको समृद्धिको सपना साकार पार्न विकासको महाअभियान अघि सारेको चर्चा गर्दै मन्त्री पौडेलले विकासका सवालमा राजनैतिक आग्रह पूर्वाग्रह छोडेर साझा धारणा बनाएर अघि बढ्नुपर्ने जोड दिए ।
कुल ४७ करोड २७ लाख ८ हजार रुपैयाँको लागतमा निर्माण हुने सो सडक विस्तार आयोजना आगामी २०७९ साल वैशाख ३१ गतेसम्म सम्पन्न गरिसक्ने प्रतिवद्धतासहित द कञ्चनजंघा विरुवा जेभी काठमाडौंले ठेक्का सम्झौता गरेको सडक विस्तार आयोजनाले जनाएको छ ।
यसअघि २०७३ साल चैत्र १७ गते सो सडक विस्तार कार्यका लागि ठेक्का सम्झौता भएको थियो । स्थानीयको अवरोधका कारण सडक निर्माण हुन नसकेपछि पुनः सम्झौता गरिएको हो । कुल ३ दशमलव ५ किमि लम्बाई रहेको सो सडक खण्डमा स्थानीयले अवरोध गरेका कारण पटकपटक निर्माण कार्य अवरुद्ध हुँदै आएको थियो ।
बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख जयलाल मरासिनीले सडक निर्माणपछि बुटवलको सौन्दर्यमा वृद्धि हुने र आधुनिक शहरको नमुना बन्ने उल्लेख गर्दै सडक विस्तारमा सघाउ पुर्याउन सबैलाई आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij