images
images

आइतवार, जेठ ६ गते २०८१

नेपालमा भारु २५ हजारभन्दा बढी ल्याउन नदिदा व्यवसाय मर्कामा : होटल व्यवसायी

नेपालमा भारु २५ हजारभन्दा बढी ल्याउन नदिदा व्यवसाय मर्कामा : होटल व्यवसायी

images
images
images
शुक्रवार, आश्विन १२ २०८०
शुक्रवार, आश्विन १२ २०८०
  • नेपालमा भारु २५ हजारभन्दा बढी ल्याउन नदिदा व्यवसाय मर्कामा : होटल व्यवसायी

    भैरहवा, १२ असोज ।
    होटल व्यवसायीले नेपालमा भारु २५ हजार रुपैयाँ भन्दा बढी ल्याउन नदिदा आफूहरुको व्यवसाय मर्कामा परेको गुनासो गरेका छन् । उनीहरुले विशेष गरी नेपालमा आउने भारतीय पर्यटकले बढी खर्च गर्ने भए पनि सीमित रकम मात्र ल्याउन पाउने प्रावधानले पर्यटन क्षेत्रमा असर पुगेको बताए ।

    images
    images
    images

    बिहीबार भैरहवामा भएको होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देहीको दशौं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनमा बोल्ने व्यवसायीहरुले आफूहरुको समस्या समाधानमा सरकार गम्भिर नभएको गुनासो गरे ।

    कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले होटल व्यवसायी र होटलमा कार्यरत कर्मचारीलाई सरकारले तालिम दिनुपर्ने बताए । उनले होटल व्यवसायलाई अगाडि बढाउन स्थानीय सरकारको पनि दायित्व रहेको उल्लेख गरे । उनी निजी क्षेत्रको अरबौं लगानी होटल व्यवसायीमा रहेको बताए । उनले भने, ‘सरकार गम्भिर बन्नुपर्छ । होटल व्यवसाय सञ्चालन गर्न धेरै चुनौतीहरु छन् । ’

    उनले मनमा राखेर समस्या समाधान हुन नसक्ने भएकाले निरन्तर आवाज उठाइराख्न व्यवसायीलाई आग्रह गरे । उनले होटल व्यवसायीलाई आतंकित बनाउने काम नगर्न आग्रह गरे । 

    होटल व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशामा अरबौं लगानी होटल व्यवसायमा भएको बताए । उनले होटल व्यवसाय ग्राहकको चाहना अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । काफ्लेले भारतीय पर्यटकलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए ।

    उनले भने, ‘भारतीय पर्यटकले नेपालमा आएर धेरै खर्च गर्ने भए पनि २५ हजार भारु मात्र बोकेर आउन पाउने नियमले उनीहरुले खर्च गर्न सकेका छैनन् । सीमा नाकामा भारतीय पर्यटकलाई सहजीकरण गर्नुको साटो दुःख दिनु गलत हो । ’

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका संस्थापक अध्यक्ष तथा उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले होटल व्यवसायी चिन्तित रहेको बताए । उनले भारतीय पर्यटकलाई २५ हजार भारु मात्र ल्याउन दिने प्रावधान अव्यवहारिक रहेको बताए । उनले पर्यटन प्रवद्र्धन नारामा मात्र सीमित गर्न नहुने धारणा राखे । रात्रीकालिन बजार सञ्चालन गर्नेतर्फ खासै काम हुन नसकेको उनको भनाइ छ ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गोरो छाला भएकालाई मात्र पर्यटक मान्नु गलत भएको बताए । उनले सबैभन्दा बढी खर्च गर्ने पर्यटक भनेकै भारतीय पर्यटक रहेको तर धेरै ठाउँमा चेकजाँचले पर्यटकले सास्ती खेप्नुपरेको बताए । अध्यक्ष श्रेष्ठले एक जनाले गल्ती गरे समग्र व्यवसायीलाई आरोपित गर्नु उचित नभएको बताए ।

    भीम अस्पताल विकास समितिका अध्यक्ष तथा उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले पर्यटक भित्र्याउन सरकारको खासै नीति नभएको बताए । उनले रात्रीकालीन बजार सञ्चालनका लागि समिति बने पनि ठोस काम अघि बढ्न नसकेको बताए । उनले भने, ‘होटल व्यवसायीको मर्म मैले राम्रोसँग बुझेको छु ।’ प्रहरीले व्यवसायीलाई अनावश्यक दुःख दिनुहुँदैन । २५ हजार भारु भन्दा बढी रकम लिएर आउन नपाउने प्रावधानले होटल व्यवसायी मर्कामा परेको उनको भनाइ छ ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले पर्यटकीय स्थलको प्रचारप्रसार गर्न अब व्यवसायीहरु देश दौडाहमा जानुपर्नेमा जोड दिए । उनले होटल व्यवसायी विस्थापित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

    नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले पर्यटक भित्र्याउने हो भने राज्य स्पष्ट हुनुपर्ने बताए । उनले जहाँ जे पायो त्यही गरेर पर्यटन प्रवद्र्धन हुन नसक्ने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको बताए ।

    लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले पर्यटक आएपछि पहिलो गन्तव्य होटल भएको बताइन् । उनले व्यवसायलाई मर्यादित बनाउन होटल व्यवसायीले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले पर्यटकको बसाइ लम्ब्याउने खालका कार्यक्रमहरु सञ्चालन गर्ने बताए । उनले विभिन्न स्तरका होटल तथा रेष्टुरेण्टहरुलाई संस्थामा आबद्धता गराउन पहल गरिने बताए ।

    संगठनका निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासेले होटल व्यवसायीका समस्या नीतिगत रुपमा समाधान गर्नुपर्नेमा जोड दिए । उनले पर्यटन क्षेत्रलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।
    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले होटल व्यवसायीले व्यवसायलाई मर्यादित बनाउँदै अब सामाजिक मुद्दालाई पनि बोक्नुपर्ने बताए । उनले होटल तथा रेष्टुरेण्ट व्यवसायका नाममा बाल श्रमलाई प्रोत्साहन तथा अवाञ्चित क्रियाकलाप गर्न नहुने बताए । उनले जायज कुराका लागि हातेमालो गर्ने बताए । उनले भने, ढुक्कका साथ शान्ति सुरक्षाकासाथ व्यवसाय सञ्चालन गर्नुहोस् । 

    सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले नेपाल आउने भारतीय पर्यटकलाई रु. २५ हजार कम भएको बताइन् । उनले गलत कार्य गर्नेलाई व्यवसायीले संरक्षण गर्न नहुने र विकृति हटाउनुपर्ने बताइन् । नगर उपप्रमुख अधिकारीले एकआपसमा साथ, सहकार्य आवश्यक रहेको बताइन् । उनले म भन्दा पनि हामी भनेर अगाडि बढे पर्यटन क्षेत्रको विकासमा मद्दत पुग्ने बताइन् ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेको अध्यक्षता, होटल व्यवसायी महासंघ, नेपालका अध्यक्ष दिनेश कुमार चुकेको प्रमुख आतिथ्यता, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासेको स्वागत, वरिष्ठ उपाध्यक्ष रामप्रसाद पोख्रेलको धन्यवाद ज्ञापन तथा महासचिव राजेश महोत्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij