२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

वृज सेफ्टी ग्लास उद्योग सञ्चालनमा 

शुक्रवार , आश्विन १२, २०८०

भैरहवा, १२ असोज । 
रुपन्देहीको रोहिणी गाउँपालिका–४ स्थित छिपागढमा सिसा फ्याक्ट्री सञ्चालनमा आएको छ । केडिया अर्गनाइजेशनअन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योगले शुक्रबारदेखि उत्पादन समेत सुरु गरेको छ । 

उद्योगले अत्याधुनिक मेशिन जडान गरी उत्पादन सुरु गरेको जनाएको छ । विभिन्न आकार, मोटाइ तथा रङ्गहरूमा लेमिनेटेड, टिन्ड, इन्सुलेटेड, रिफ्लेक्टिभ लगायतका सिसा उत्पादन हुने अर्गनाइजेसनका प्रबन्ध निर्देशक उत्सव केडियाले बताए ।

कम्पनीले आवासीय, व्यवसायिक, संस्थागत तथा औद्योगिक परियोजनाको लागि आवश्यक पर्ने संरचनागत तथा सजावट पूर्ति गर्ने सबै खालका सिसा उत्पादन गर्दै आएको प्रबन्ध निर्देशक केडियाले बताए । 

‘आफ्ना उत्पादनमार्फत सुन्दर र व्यवहारिक समाधान प्रदान गर्ने अटल प्रतिवद्धता लिएको वृज सेफ्टी ग्लास उद्योग नवप्रवर्तन र गुणस्तरको अग्रपंक्तिमा उभिएको छ, ’केडियाले भने ।

फ्याक्ट्रीबाट दैनिक १२ हजार वर्गफिट सिसा उत्पादन गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।प्रबन्ध निर्देशक केडियाले रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने कम्पनीको प्रतिवद्धतालाई मूर्त रूपमा कार्यान्वयन गरी नेपालको उन्नतिमा योगदान पुर्याउन समर्पित रहेको बताए ।

कम्पनीका सबै उपकरणहरू यूरो मापदण्डअनुसार रहेका छन् । यसले गर्दा वृज सेफ्टी ग्लासका हरेक उत्पादन अन्तर्राष्ट्रियस्तरको हुनेमा ढुक्क हुन सकिने केडियाको भनाइ छ । ४० करोडको लगानीमा उद्योग स्थापना भएको र यसमा २ सय बढीले रोजगारी पाएका छन् ।

उद्योगको अध्यक्ष मनोज केडिया, निर्देशकहरू गौरव अग्रवाल, अजय गुप्ता र सतिश केडिया रहेका छन् ।