
शनिवार , आश्विन १३, २०८०
भैरहवा, १३ असोज ।
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । गत असोज ६ गते सम्पन्न साधारण सभा तथा अधिवेशनले दर्पण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो ।
सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको सभाहलमा आयोजित पदस्थापन कार्यक्रममा उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले नवनिर्वाचित अध्यक्ष दर्पण श्रेष्ठलाई, महासचिव सचिन रोक्काले नवनिर्वाचित महासचिव लक्ष्मी अधिकारी र कोषाध्यक्ष राम मिलन यादवले नवनिर्वाचित कोषाध्यक्ष सुरेन्द्र कुमार पाण्डेयलाई पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा निर्वाचन अधिकृत जगत बहादुर रायमाझीले अध्यक्ष श्रेष्ठलाई र अध्यक्ष श्रेष्ठले पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी.ले उद्योगी व्यवसायीको हकहितका लागि आफूले सदनमा निरन्तर आवाज उठाइरहेको बताइन् । उनले उद्योगी–व्यवसायी सफल नभएसम्म राष्ट्र समृद्ध बन्न नसक्ने जिकिर गरिन् ।
उनले भनिन्, ‘वर्तमान समयमा बाटाघाटा, पुल भन्दा मानिसको जीवनस्तर उकास्नु महत्वपूर्ण हो । सरकारले योजना बनाउनुपर्छ । मानिस केही समय हिलोमा हिड्न सक्छ तर, भोकै बस्न सक्दैन ।’ उनले एउटै संस्था÷कम्पनीले कति ठाउँमा राजस्व बुझाउने भन्दै प्रश्न गरिन् । पछिल्लो समय खाद्यान्नको विक्रीमा समेत कमी आएको भन्दै यसले पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भन्ने बुझ्न सकिने उनको भनाइ छ ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले उद्योग व्यापार संगठन, रुपन्देहीको नयाँ कार्यसमितिसँग अवसर र चुनौति दुवै रहेको बताए । उनले आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका सबै व्यवसायीहरुले सिद्धार्थनगर नगरपालिकामा व्यवसायिक प्रतिष्ठान दर्ता गराए नगरपालिकाको आन्तरिक स्रोत अझै बढ्ने बताए । उनले भने, ‘सिद्धार्थनगर नगरपालिका काठमाडौं उपत्यकापछिको सानो नगरपालिका हो, यहाँ अपेक्षा धेरै छन् । ’प्रमुख प्रशासकीय अधिकृत पौड्यालले संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको सरल स्वभाव रहेको बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन प्राधिकरण कार्यालयका प्रमुख महाप्रबन्धक हसंराज पाण्डेले पर्यटक आउने वातावरण बनाउनुपर्ने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विशेष गरी पर्यटककै लागि बनेको बताए ।
नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय मिश्राले विद्युत प्राधिकरण र निजी क्षेत्रबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले संगठनले देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै उत्पादनमुलक उद्योगमा जोड दिनुपर्ने बताए । उनले जिल्ला प्रहरी कार्यालयले संगठनसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले आफू अब निवर्तमान अध्यक्ष भए पनि संगठनको नयाँ टीमलाई साथ दिदै उद्योगी व्यवसायीको हकहितका लागि आवाज उठाउने बताए ।
संगठनका नवनिर्वाचित अध्यक्ष दर्पण श्रेष्ठले आफ्नो एक्लो प्रयासले मात्र संस्था अगाडि बढ्न नसक्ने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।
भीम अस्पताल विकास समितिका अध्यक्ष तथा उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले आफ्नो कार्यकालमा दुईपटक व्यापार मेला ÷महोत्सव आयोजना गरेको बताए । उनले भने, ‘मेरो कार्यकालमा उद्योग व्यापार संगठनको भवन निर्माण भयो ।’ उनले उद्योग व्यापार संगठन रुपन्देही सशक्त रुपमा अघि बढेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अनिल कुमार ज्ञवालीले आफ्नो कार्यकालमा सुझबुझ ढंगले उद्योगी व्यवसायीको हकहितमा काम गरेर आफ्नो कार्यकाल सफल बनाउनुभएको बताए । उनले भने, ‘नयाँ कार्यसमितिसँग सहकार्य गरेर अघि बढ्छौं ।’
उद्योग व्यापार संगठन, रुपन्देहीको १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनबाट आगामी कार्यकालका लागि दर्पण श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।
त्यस्तै संगठनको निवर्तमान अध्यक्षमा अनिल कुमार ज्ञवाली, वरिष्ठ उपाध्यक्षमा सचिन रोक्का, उपाध्यक्षमा (उद्योगतर्फ) मधुसुदन अर्याल, उपाध्यक्षमा (वाणिज्यतर्फ) राम मिलन यादव, महासचिवमा लक्ष्मी अधिकारी, कोषाध्यक्षमा सुरेन्द्र कुमार पाण्डेय, सचिवमा गौतम कुमार गुप्ता र कृष्ण प्रसाद पाण्डे निर्वाचित भएका थिए । त्यसै गरी सह–कोषाध्यक्षमा सन्तोष शुक्ला र एशोसियट सदस्यमा राम अवध गुप्ता निर्वाचित भएका थिए ।
निर्वाचन समितिका अनुसार संगठनको उद्योग सदस्यतर्फ प्रभुप्रसाद यादव, रामप्रसाद भण्डारी, सिकन्दर अलि धुनिया र राम प्रसाद श्रेष्ठ र वाणिज्य सदस्यतर्फ गोविन्द सापकोटा जैसी, कृष्ण प्रसाद मरासिनी, दिनेश गुप्ता र धिरज कुमार मल्लिक निर्वाचित भएका थिए । संगठनको महिला सदस्यमा माया खनाल र मिनिता थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij