२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

ओलीलाई श्री ३ महाराज नबन्न प्रचण्डको चेतावनी 

बिहिवार , माघ १५, २०७७

बुटवल। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपि शर्मा ओलीलाई श्री ३ महाराजको संज्ञा दिएका दिएका छन्। 

नेकपाले आज बुटवलमा आयोजना गरेको प्रदेश स्तरीय बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमनत्री ओली श्री ३ महाराज बन्न लागेको बताएका हुन्। अध्यक्ष प्रचण्डले श्री ३ महाराज बन्न चाहनेहरुलाई धरासायी पार्ने समेत बताए। 

अध्यक्ष प्रचण्डले श्री ३ महाराज बन्नेहरुलाई लुम्बिनी प्रदेशबाटै धरासायी बनाउने चेतावनी दिर्दै प्रधानमनत्री ओलीले संविधानको घाँटी रेट्ने काम गरेको बताए। 

‘संविधानको घाँटी रेटेर हत्या गर्ने, लोकतन्त्रको हत्या गर्ने, निरंकुशता र स्वेच्छाचारी ओलीलाई चुट्कीको भरमा अन्त्य गर्ने छौ’, अध्यक्ष प्रचण्डले भने, श्री ३ बन्ने ओलीको चाहनालाई समाप्त पारेर बाँकी दुई वर्षभित्र देशलाई समृद्ध बनाउने छौं।

प्रचण्डले ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष बनाएको र आफैले समर्थन गरेर प्रधानमन्त्री गरेको स्मरण गर्दै प्रचण्डले अहिले ओली सामन्ती निरंकुशताको एजेन्ट बनेको देख्दा दुर्भाग्य लागेको बताए ।

सभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओलीका प्रतिगमनकारी र निरंकुश कदमलाई जनताले हराएर छाड्ने दाबी गरे।

ओलीमा निरंकुशताको प्रेत जागेको आरोप लगाउँदै नेता भुसालले एकजना तानाशाहको सनक र इज्जत सब कुरा हो भन्दै आएको हुँदा आमनागरिकले आफ्नो जीवनको मुल्य खोज्नुपर्ने बेला आएको बताए। 

आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ले नै चुनौती खडा गर्नुले उनमा राणा तथा राजाहरुको प्रेत उत्रेको उनको भनाइ थियो । अगाडि उनले भने–‘ओलीको बाटो संम्विधानको हत्या, अस्थिरता, अशान्ति, बर्बादी, जनताको सत्यनास नै हो । ओलीले यी कर्तुत लुकाउन, जनताको ध्यान मोड्न सारा षड्यन्त्र रचेका छन् । त्यसका विरुद्ध नेपाल खडा भएको छ ।’ 

त्यस्तै नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले माओवादी जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन्।

नेता पुनले ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ र जनयुद्धमा लागेकालाई ‘बाँदर’ को संज्ञा दिएकामा पुनले आपत्ति जनाएका हन्।

पूर्वमाओवादीकै कारण ओली दुईपटकसम्म प्रधानमन्त्री भएको हेक्का राख्न पुनले ओलीलाई आग्रह गरे। ‘जसका कारण तपाईं दुईपटक देशको प्रधानमन्त्री बन्नुभयो’, विरोधसभामा ओलीको नाम लिँदै पुनले भने, ‘जसको योेगदानले दुईपटक देशको प्रधानमन्त्री बन्नुभयो, उही कुहिएको फर्सी ?, उही बाँदर ?’