
आइतवार , आश्विन १४, २०८०
भैरहवा, १४ असोज ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा नगरपालिका–१५ कोटिहवा, रुपन्देहीको १८ औं निर्णय प्रमाणित साधारणसभा–२०८० शनिबार बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संकटको बीचमा जनउत्थानले राम्रो छवि बनाएको बताए । उनले जनउत्थानले ४० हजार बढी सदस्यको विश्वास जितेको बताए । उनले भने, ‘यहाँहरुले असाधारण प्रकृतिको काम गर्नुभएको छ । आकार बढ्दा चुनौति बढ्छ । ठूलो हुँदैमा विजयी भइदैन ।’
प्रजिअ अर्यालले सहकारीहरुले गर्दा हाम्रो बिचल्ली भयो दिनदिनै गुनासो सुन्ने ठाउँमा आफू रहेको बताए । उनले अर्थतन्त्रको तेस्रो पिलरको रुपमा राज्यले सहकारीलाई स्थापित गरेको र त्यो अनुसार सहकारी चले कि चलेनन् भन्ने समीक्षा गर्ने बेला भएको बताए । उनले जनउत्थान सहकारीलाई वातावरणको क्षेत्रमा पनि काम गर्न सुझाव दिए ।
जनउत्थान बचत तथा सहकारी संस्था लिमिटेडकी अध्यक्ष ज्ञानु पौड्यालले बचत तथा ऋण सहकारी संस्थाको मूल मर्म र सहकारीका अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई आत्मसाथ गर्दै जनउत्थानले आफ्नो सेवाहरु प्रवाह गरिरहेको बताइन् । उनले सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि बचत र ऋण लगानीका माध्यमबाट सदस्यहरुलाई सेवा दिइरहेको यो संस्थाले अन्य सामाजिक गतिविधिहरु पनि सञ्चालन गर्दै आएको बताइन् ।
उनले भनिन्, सहकारी संस्थाको संस्थागत विकास र सुदृढीकरणको लागि सक्षम, योग्य र उच्च नैतिकवान नेतृत्व, अनुभव र क्षमतावान व्यवस्थापन एवं वित्तीय अनुशासित सदस्यहरुको अति नै आवश्यकता रहन्छ । जुन कुरा हाम्रो यस संस्थाको सबल पक्षको रुपमा रहेको छ । यो अवस्थासम्म आइपुग्न भूमिका निर्वाह गर्नुहुने सबैलाई हार्दिक आभार व्यक्त गर्दछु ।
संस्थाका उपाध्यक्ष गिरी प्रसाद पुनले सदस्यहरुलाई बचत तथा ऋणसँगै आत्मनिर्भरको बाटो लाग्ने खालका कार्यक्रमहरु बनाउन सहकारी लागिपरेको बताए ।
संस्थाकी सचिव सरु रानाले जनउत्थानले जहिले पनि कसरी राम्रा योजनाहरु ल्याउन सकिन्छ भन्नेतर्फ लागेको बताइन् ।
सहकारीका व्यवस्थापक रन बहादुर थापाले सहकारीका यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा सहकारीले उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार माया केसीलाई सम्मान गरेको थियो । त्यस्तै सोही कार्यक्रममा उत्कृष्ट कर्मचारी र उत्कृष्ट सेवा केन्द्रलाई पनि सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij