२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

केपी ओलीले नेपाली जनताको भावनामाथि कुठाराघात गरे : माधव नेपाल

बिहिवार , माघ १५, २०७७

बुटवल, १५ माघ । 
नेकपा प्रचण्ड-माधव नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले संविधान मासेर लोकतन्त्रको हत्या गर्ने प्रयास गरेको आरोप लगाए । उनले असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेर घोषणा गरिएको निर्वाचन असफल भविष्यवाणी सावित हुने टिप्पणी गरे । 

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा संघर्ष समिति समिति लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेपालले नेपाली जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाउँदै अध्यक्ष नेपालले केपी ओलीको स्वेच्छाचारिता र निरंकुशताको छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे । उनले ओली राजतन्त्र विरोधी आन्दोलनमा सहभागि नभएको बताए । ओलीले जनताको चाहना र भावना बुझ्न नसकेको नेपालले आरोप लगाए । केपी ओलीको प्रवृत्ति देखेर नागरिक वाक्क भएको उनले बताए ।

सो कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज युवराज ज्ञवाली, स्थायी समिति सदस्य वर्षमान पुन, घनश्याम भुसाल, ओनसरी घर्ती, केन्द्रीय सदस्य बामदेव क्षेत्री, ठाकुर गैरे लगायतले प्रम केपी ओली मुलुकलाई अस्थिरता, अशान्ति, अराजकता र बर्वादीतिर लैजाने कम्यूनिष्ट विरोधी, लोकतन्त्र विरोधी र राष्ट्रघाती भएको आरोप लगाए । दलाल पुंजी नियन्त्रण र राष्ट्रिय पुँजीको विकास गर्ने पार्टीको घोषणापत्र विपरित गएको र श्री ३ महाराज बन्ने प्रयत्न गरेको आरोप समेत नेताहरुले लगाए ।  

यसअघि बुटवलका ३ स्थानबाट र्याली निकालिएको थियो । राजमार्ग चौराहबाट घनश्याम भुसाल, गोलपार्कबाट ठाकुर गैरे र तिनाउ पुलबाट चक्रपाणी शर्मा बलदेवले नेतृत्व गरेको र्यालीले नारा जुलुश गर्दै महेन्द्रपार्क पुगेरसभामा परिणत भएको थियो । rally.JPG