२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

धावनमार्ग व्यक्तिको नाममा सार्ने कार्यमा संग्लन सबैलाई कारवाही हुनुपर्छ : सांसद् घिमिरे

मंगलवार , आश्विन १६, २०८०

काठमाडौं, १६ असोज । 
प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग समेत पर्ने जमिन व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा संग्लन सबैलाई कारवाहीको दायरामा ल्याउन सरकासँग माग गरेका छन् । मंगलबार संसद् बैठकको विशेष समयमा बोल्दै सांसद् घिमिरेले ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालनमा समेत आइसकेपछि व्यक्तिको नाममा सारिनु अत्यन्त गम्भीर विषय भएको बताए ।

विमानस्थलको अधिग्रहणमा परेको जमिन व्यक्तिका नाममा लैजाँदा मालपोत कार्यालयले मुआब्जा वितरण समितिका संयोजकसमेत रहने प्रमुख जिल्ला अधिकारी, विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणसँग कुनै परामर्श नलिएको पाइएकोले यसमा ठूलो आर्थिक चलखेल भएको हुन सक्ने उनले उल्लेख गरे । ‘हदबन्दीमा परेको जग्गा फिल्डबुकमा भए पनि कसैको नाममा दर्ता नरहेकोमा भूमाफियाको योजनामा मालपोत कार्यालयले व्यक्तिको नाममा सारिदिएको बुझ्न सकिन्छ ।’ सांसद् घिमिरेले भने ।

व्यक्तिको नाममा सारिएको सो जग्गा पूर्ववतः अवस्थामा फर्काई यस्तो चलखेलमा संग्लन सबैलाई कारवाहीको दायरामा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सांसद् घिमिरेले २०७९ सम्म फिल्डबुकमा कसैको नाममा नरहेको जग्गा एकाएक व्यक्तिको नाममा सारिँदा स्थानीयस्तरमा आक्रोश समेत बढेको बताए ।

भू-माफिया र मालपोत कार्यालयका कर्मचारीहरुको मिलेमतोमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग समेत पर्ने ४ बिघा १७ कट्ठा जग्गा गत वैशाखमा व्यक्तिका नाममा सारिएको थियो । लालपूर्जा पाएपछि आफ्नो जमिन विमानस्थलले अधिग्रहण गरेको दावी गर्दै ९ करोड बढी मुआब्जाका लागि व्यक्तिको तर्फबाट विमानस्थल आयोजना कार्यालयमा निवेदन परेपछि यो घटना सार्वजनिक भएको हो । मुआब्जा निर्धारण समितिले सो जग्गाको मुआब्जा दिन नसकिने निर्णय गरिसकेको छ ।