२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

सीमा नाकाबाट सेटिङमा हुने अवैध आयात रोक्न सरकारको ध्यानाकर्षण

मंगलवार , आश्विन १६, २०८०

काठमाडौं, १६ असोज ।
प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले भारतीय सीमा नाकाबाट सेटिङमा हुने अवैध आयात रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार संसद् बैठकको विशेष समयमा बोल्दै उनले केही व्यवसायीको मिलेमतो र सेटिङमा हुने अवैध आयातलाई रोक्न सरकारसँग माग गरेका हुन् ।

‘एकातिर सर्वसाधारण जनतालाई १ सय रुपैंयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार गर्न लगाउने अर्कोतर्फ लाखौं मूल्यका सामान बिना भन्सार नेपाल भित्राउने गिरोहलाई रोक्न नसक्ने प्रवृत्तिले न राजस्वमा वृद्धि हुन्छ, न उपभोक्तालाई राहत नै ।’ सांसद् घिमिरेले भने, ‘यसर्थ सेटिङमा हुने अवैध आयातमा रोक्न गर्न म सभामुखज्यूमार्फत् सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

केही समयदेखि भारतीय सीमावर्ती बजारबाट सर्वसाधारण उपभोक्ताले १ सय रुपैंयाँभन्दा बढीका सामान भन्सार बिना नेपाल ल्याउन पाउँदैनन् । नेपालको आन्तरिक व्यापार व्यवसाय प्रवद्र्धनको लागि यो नियमलाई नकारात्मक भन्न मिल्ने अवस्था नरहे पनि यो नियमपछि सीमा नाकामा सेटिङमा हुने अवैध आयात बढेको जानकारहरु बताउँछन् । 

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहेका घिमिरेले भारत तर्फबाट क्यारिङ्गको नाममा हुने सेटिङ्गमा ठूलो परिमाणका सामान भन्सार बिना नेपाल आउने गरेको उल्लेख गरे । यसमा भन्सार कार्यालयका कर्मचारी र प्रहरीको समेत मिलेमतो रहेको बुझ्न कठिन नरहेको बताउँदै उनले अचेल भारतीय बजारमा नेपालीहरुले सामान खरिद गरेपछि त्यसलाई खरिदकर्ताको घर घरसम्म पुर्याउने गिरोह सक्रिय भएको पाइएको बताए ।