२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

‘साना सहकारीहरु मर्जरमा जानुको विकल्प छैन’

बुधवार , आश्विन १७, २०८०

तिलोत्तमा, १७ असोज । 
बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराईले साना सहकारीहरु मर्जरमा गएर एकीकृत भइ ठूलो संस्था बन्दा सहकारीको सेवा गुणस्तरीय हुने र शेयरधनीले बढी प्रतिफल पाउन सक्ने बताएका छन् ।

तिलोत्तमाको मणिग्रामस्थित सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै भट्टराईले साना सहकारीहरुले शेयरधनीले खोजे अनुसारको कर्जा प्रवाह गर्न र अन्य गुणस्तरीय सेवा दिन नसक्ने हुँदा एउटै प्रकृतिका सहकारीहरु एकीकृत भएर ठूलो संस्था बन्दा सञ्चालन खर्च घट्न गई शेयर सदस्यले मुनाफा पनि बढी पाउने र संस्थाको गरिमा र विश्वास पनि बढ्ने बताए ।

सबैको बचत तथा ऋण सहकारी ११ वटा सहकारीबीच सफल एकीकरण भएर देशभरमै उदाहरण बनेको र एकीकरणपछि राम्रो वित्तीय प्रगति गरेको भन्दै अध्यक्ष भट्टराईले यसबाट अरु सहकारीले पाठ सिक्नुपर्ने बताए ।

साना सहकारीले दक्ष जनशक्ति राख्न नसक्ने, पारिवारिक ढंगले संस्था चलाउने, पारदर्शीताको अभाव र मनोमानी निर्णय हुने भएकाले थोरै सदस्य भएका र सहकारीको मूल्य मान्यता अनुसार चल्न नसकेका सहकारीहरु बढी समस्यामा परेको र यस्ता साना सहकारीको भविष्य नभएको भन्दै अध्यक्ष भट्टराईले भन्दै सहकारीप्रति विश्वास बढाउन मर्जरमा जानु नै भएको भट्टराईले जोड दिए ।

८० प्रतिशत भन्दा बढी सहकारी स्थानीय तहको नियमनमा पर्ने भए पनि स्थानीय तहको नियमन फितलो भएका कारण पनि सहकारीहरुमा समस्या आउने गरेको अध्यक्ष भट्टराईले औंल्याए ।

संस्थाका अध्यक्ष भरतराज भुसालले बाहिरबाट आएर हचुवाका भरमा खोलेका सहकारीका कारण राम्रा सहकारीको बद्नाम भएको भन्दै शेयर सदस्य बन्नुभन्दा पहिले सञ्चालक र सहकारीका विषयमा बुझ्नुपर्नेमा जोड दिए । उनले हाल संस्थामा ७ हजार २ सय जना शेयर सदस्य रहेको र २०८३ सम्म शेयर सदस्य बढाएर १२ हजार पुर्याउने गरी अगाडि बढेको बताए । भुसालले आगामी ३ वर्षमा ३ अर्ब शेयर पूँजी बनाउने लक्ष्य राखेको समेत प्रतिवेदनमार्फत उल्लेख गरे ।

देशभरबाट एकैपटक ११ वटा सहाकारीलाई एकीकरण गरेर पुरस्कार प्राप्त गर्न सफल भएको भुसालले उल्लेख गरे । कार्यक्रममा संस्थाका सचिव देवानन्द पाण्डेले नीति, विधि र प्रबिधिबाट संस्थालाई अगाडि बढाएको हुँदा संस्थापति आकर्षण बढेको बताए ।

सो अवसरमा संस्थाका सल्लाहकार कृष्ण प्रसाद अर्याल, गायत्री पाण्डे, नेत्रप्रसाद पाठक लगायतले संस्थाले शेयर सदस्यको मन जित्ने गरी काम गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष इन्दिरा पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

तीनदिने साधारणसभा अन्तर्गत पहिलो दिन बिहीबार मुख्य कार्यालय मणिग्राम, गोरकट्टा र बांसघारी सेवा केन्द्रका शेयर सदस्यलाई लक्षित गरी मणिग्राममा सम्पन्न गरेको उपाध्यक्ष चुरामणी पाण्डेले जानकारी दिए । 

दोस्रो चरणको कार्यक्रम भलवारी, सेमरा बजार र भरवलिया सेवा केन्द्रका सदस्यहरुलाई लक्षित गर्दै बिहीबार भलवारीमा गर्ने र शुक्रबार शिवचोक, नन्दनवन र शिवपुर सेवा केन्द्रका सदस्यलाई लक्षित गरी चार नम्बरमा कार्यक्रम राखिएको संस्थाका व्यवस्थापक हरिहर पौडेलले बताए । 

कार्यक्रममा सडक दुर्घटनामा मृत्यु भएका शेयर सदस्यका परिवारलाई १ लाख ५० हजार राहत रकम समेत प्रदान गरिएको सचिव देवानन्द पाण्डेले जानकारी दिए ।