२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयबाट क्यूआर भुक्तानी प्रणालीको सुरुवात

बिहिवार , आश्विन १८, २०८०

भैरहवा, १८ असोज । 
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले आफ्ना सेवाग्राही तथा कर्मचारीहरुबाट संकलन गरिने नगद रकमलाई विद्युतीय भुक्तानीको माध्यमबाट लिन सकिने गरी क्यूआर माध्यम सञ्चालनमा ल्याएको छ । 

राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्येन्द्र राज सुवेदीले आफ्नो आन्तरिक बील फछयौट गर्ने क्रममा कार्यालयलाई बुझाउनुपर्ने रकम क्यूआर माध्यमबाट बुझाएर विद्युतीय भुक्तानीको औपचारिक रुपमा सुरुवात गरेका हुन् । यससँगै राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयबाट सर्वसाधारणले भारतीय मुद्रा लगायत अन्य विदेशी मुद्रा र सिक्का खरिद वा रु. पाँचमाथिको दरका सुकिला तथा नयाँ नोट लिंदा अबदेखि ग्राहकले आफ्नो साथमा नगद लैजान नपर्ने भएको छ ।

त्यस्तै यो सुविधा पाएपछि सेवाग्राहीले विभिन्न बैंकको एटीएममा धाएर रकम लिनुको सट्टा कार्यालयको खुलेको समयमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयमा गइ निःशुल्क रुपमा क्यूआर प्रयोग गरी आफूले चाहेको दरको नोट लिन सक्ने निर्देशक सुवेदीले बताए । यसबाट एउटा बैंकको खातावालले अर्को बैंकको एटीएम प्रयोग गर्दा तिर्नुपर्ने शुल्क बचत हुने उनले जानकारी दिए ।

‘नेपालमा हुने सम्पूर्ण कारोबारहरुलाई क्रमश नगदरहित बनाई सुरक्षित, सर्वसुलभ र भरपर्दो विद्युतीय माध्यमबाट कारोबार गर्न नेपाल राष्ट्र बैंकले विगतका वर्षहरुदेखि नै प्रयास गरिरहेको थियो । सुवेदीले भने, ‘बैंकले आफ्ना सेवाग्राही तथा कर्मचारीबाट लिनुपर्ने रकम पनि सुरक्षित र भरपर्दो विद्युतीय माध्यमबाट लिन सकिने गरी व्यवस्था गर्न सुरु गरेका हौं ।’

नेपालमा क्यूआर माध्यम मार्फत हुने कारोबारलाई स्वीकार गरी सम्बन्धित बैंकको खातामा रकमान्तर गर्न दुईवटा कम्पनी फोन पे र नेपाल पे ले इजाजत लिएका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाहरु ती कम्पनीहरुमै आबद्ध रहेका छन् । ग्राहकको सुविधालाई ध्यानमा राखी नेपाल राष्ट्र बैंकले दुईवटै कम्पनीको क्यूआर राखेको छ । यसका लागि कार्यालयले एनआइसी एसिया बैंक र माछापुच्छ्रे बैंकसँग सम्झौता गरेको छ ।

सुकिला नोट प्रयोग गर्न अपील

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले नया नोटसँगै कार्यालयमा रहेका सफा नोट पनि प्रयोग गर्न सेवाग्राहीहरुलाई अपील गरेको छ । दशै लगायतका चाडपर्वमा पूर्वसन्ध्यामा वितरण गरिने नयाँ नोटमा अबिर, अक्षेता लगायतका कारणहरुबाट ती नोटहरु चलनचल्ती अयोग्य हुने र बैंकिङ्ग प्रणालीमा छिटो आउनासाथ नष्ट गर्नुपर्ने भएकोले नेपाली नोटको अधिकतम सुरक्षा हुने गरस् जतनका साथ उपयोग गर्न राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्येन्द्र राज सुवेदीले आग्रह गरे ।

‘विगतका वर्षहरुमा वितरण गरिएको नोटहरुमध्ये अधिकांश नोटहरु एकपटक मात्र प्रयोग भई नेपाल राष्ट्र बैंकको ढुकुटीमा थन्किएर बसेका छन् । उनले भने, ‘लामो समयसम्म त्यतिकै रहँदा ढुकुटीमै काम नलाग्ने अवस्थामा पुग्न सक्ने सम्भावना भएकोले सकेसम्म सफा नोटको माग गर्न आग्रह गरेका हौं ।’

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले असोज २९ देखि कार्तिक ३ गतेसम्म सर्वसाधारणलाई लक्षित गरी ५ रुपैयाँदेखि १ सय रुपैयाँसम्मको एक/एक प्याकेट प्रतिव्यक्तिलाई नयाँ नोट सटही गरिने व्यवस्था मिलाएको छ । यसका लागि सम्भव भएसम्म क्यूआरबाट सटही गर्न सम्बन्धित सबैमा राष्ट्र बैंकले आग्रह गरेको छ । यससँगै सुकिला नोट चाहिएको समयमा र चाहिएको परिमाणमा बैंकबाट प्रदान गरिने सुवेदीले बताए ।

IMG_0343.JPG