
शुक्रवार , माघ १६, २०७७
बुटवल, १६ माघ ।
कोभिड–१९ महामारीको कारण गत असोजमा रोकिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारणसभा तथा अधिवेशन आगामी फागुनमा हुने भएको छ । बिहीबार बसेको कार्यसमितिको बैठकले संघको ६७ औं वार्षिक साधारणसभा तथा २४ औं अधिवेशन आगामी फागुनको १०–१३ गते गर्ने निर्णय गरेको हो । यस अगाडी संघले असोजको २६–२८ मा तोकेको साधारणसभा तथा अधिवेशन कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो ।
साधारणसभा तथा अधिवेशनको मिति निर्धारण गर्दै कार्यसमिति बैठकले तयारीको लागि विभिन्न विषयगत समिति समेत गठन गरेको छ । कार्यसमिति बैठकले साधारणसभा तथा निर्वाचन स्थल व्यवस्थापनको लागि कार्यसमिति सदस्य प्रकाश श्रेष्ठ, खाना तथा जलपान व्यवस्थापनको लागि कार्यसमिति सदस्य बसन्त ढकाल, किटव्याग तथा रजिष्ट्रेशन व्यवस्थापनको लागि कार्यसमिति सदस्य मुक्ति अधिकारी, प्रस्ताव समितिको संयोजकमा कार्यसमिति सदस्य प्रतिक पोखरेल, सदस्यता मत सर्वेक्षणमा कार्यसमिति सदस्य करुण खनाल र स्वागत सत्कार व्यवस्थापनमा कार्यसमिति सदस्य धनकुमारी खनाललाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।
संघको अधिवेशन सम्पन्न गर्नको लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुमा पत्रकार खिमानन्द भट्टराई र अधिवक्ता गोविन्द मरासिनीलाई चयन गरिएको छ । संघले प्रत्येक तीन वर्षमा वितरण गर्दै आएको औद्योगिक पत्रकारिता पुरस्कार प्रदान गर्नको लागि संघका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुनमान सैंजुको संयोजकत्वमा छनौट समिति निर्माण गरिएको छ ।
त्यस्तै उद्योगी व्यवसायी सम्मानको लागि पूर्व अध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । साधारणसभामा प्रस्तुत गर्नुपर्ने कुनै प्रस्तावहरु भएमा फागुन २ गते भित्र लिखित रुपमा सचिवालयमा उपलब्ध गराउन समेत सदस्य उद्योग व्यवसायीलाई आग्रह गरिएको संघका कार्यकारी निर्देशक मदन कुमार कार्कीले जानकारी दिए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वि.सं. २००९ साल फागुन १० गते स्थापना भएको थियो । संघको स्थापना दिवस बिशेष कार्यक्रमको लागि कार्यसमिति सदस्य भेषराज गैरेको संयोजकत्वमा समित गठन गरिएको छ । संघको ६८ औं स्थापना दिवसको अवसरमा रक्तदान तथा संघका पूर्व अध्यक्ष सम्मान लगायतका कार्यक्रम गरिने संयोजक गैरेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij