
आइतवार , आश्विन २१, २०८०
तिलोत्तमा, २१ असोज ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित सदुपयोग बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सम्पूर्ण सेयर सदस्य तथा कर्मचारीहरुको १ लाखको दुर्घटना बीमा गरेको छ । शेयर सदस्य वृद्धि अभियानलाई प्राथमिकतामा राखेको सहकारी संस्थाले आर्थिक वर्ष २०७९/८० मा १५१ जना नयाँ सेयर सदस्य थप गरी सेयर सदस्य संख्या ७०८ पुर्याएको छ ।
सहकारी संस्थाको शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष कमल अर्यालले यो आर्थिक वर्षमा शेयर सदस्य संख्या १ हजार पुर्याउने बताए ।
त्यस्तै संस्थाले बचतलाई वर्गीकरण गरी नियमित, स्वेच्छिक र मुद्दति खाता सञ्चालन गर्ने महिला प्रसुति स्याहार खर्चवापत एकपटकलाई रु. २ हजार प्रदान गर्ने र तिलोत्तमा नगरपालिकासँग जोडिएका अन्य पालिकाहरुमा लगानी गर्न मिल्ने गरी कार्यविधि संशोधन गरिने लगायतका प्रस्ताव पारित गरिने अध्यक्ष अर्यालले बताए ।
कार्यक्रममा समाजसेवी प्राथमणि आर्चायले सहकारी संस्थाहरुले शेयर सदस्यहरुलाई बढी प्रतिफल दिने खालका कार्यक्रमहरु गर्नुपर्ने बताए । आफूले बुझेका र स्थानीयले सञ्चालन गरेका सहकारी संस्थामा मात्र बचत जम्मा गर्न उनले सुझाव दिए ।
साधारणसभामा संस्थाका सल्लाहकार कल्याण पौडेल, खिमानन्द भट्टराई, ईश्वर शर्मा, उपाध्यक्ष नारायणी शर्मा अधिकारी, लेखा संयोजक मिना रेश्मी, संचालक सदस्य प्रेम नेपाली, शेयर सदस्य शान्ता थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले अध्यक्ष र कोषाध्यक्ष ढक बहादुर टण्डनको आर्थिक प्रतिवेदन पारित गरेको सचिव प्रकाश चापागाईले बताए ।
सो अवसरमा सेयर सदस्य बृद्धि गर्ने सरस्वती बस्नेत, असल ऋणी अमृता टण्डन र एसईई ३.९२ जीपीए ल्याउने सम्झना बस्नेतलाई नगदसहित सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij