
आइतवार , आश्विन २१, २०८०
बुटवल, २१ असोज ।
२०३२ सालमा बुवा अमर प्रसाद श्रेष्ठको कान्छी औंला समातेर बामेसर्दै पाल्पाबाट बुटवल झरेका दिनेश प्रसाद श्रेष्ठलाई अहिले चुनाव लागेको छ । पाल्पा भैरवस्थान स्थायी घर भएका श्रेष्ठको २०२८ सालमा मिसन अस्पतालमा आमा गंगालक्ष्मी श्रेष्ठको कोखबाट जन्म भएको थियो । पाल्पामा नै कपडाको व्यापार गर्ने उनका बुवा उनी जन्मेको २ वर्ष नपुग्दै कपडाको व्यापार छाडेर बस मालिक बन्दै बुटवल झरे । दिनेश पनि बामे सर्दै बुवासँगै बुटवल झरे । पुरानो बुटवलमा उनीहरुको बसोबास भयो । बुवाले बस किने र संगम बस सेवाको नामबाट बस चलाए ।
कुनैबेला बसको कण्डक्टर बनेर हिंडेका केटा नेपालकै जेठो उद्योग वाणिज्य संघको नेतृत्व गर्न तम्सेलान् भनेर सायद कसैले कल्पना नगर्न पनि सक्छन् । सरकारी स्कुलमा पढेर शिक्षा हासिल गरेका युवा सफल व्यवसायी बन्न सक्लान् भनेर पनि नयाँ पुस्ताले नपत्याउन सक्छन् । तर, बुटवलमा कुनै बेला बसको कण्डक्टर बनेर हिंडेका र बुटवलकै व्यवसायीको सामाजिक लगानीबाट खुलेको सामूदायिक विद्यालयमा पढेका साधारण घरका युवा सफल व्यवसायी मात्र बनेका छैनन्, २१ वर्षको व्यवसायिक नेतृत्वको अनुभव संगाल्दै देशकै जेठो उद्योग वाणिज्य संघको नेतृत्व गर्न तम्सेका छन् । २१ वर्षदेखि बुटवल उद्योग वाणिज्य संघको विभिन्न पदमा बसेर अनुभव संगाल्दै नेतृत्वका लागि तम्सेका व्यावसायी हुन् दिनेश प्रसाद श्रेष्ठ ।
दिनेशले बुटवलको सरस्वती प्राविमा १, २ र ३ कक्षा पढे । बुटवलकै व्यापारीहरुले २०१० देखि नै लगानी गरेर चलाउँदै आएको बुटवल माविमा कक्षा ४ देखि १० सम्म अध्ययन गरे । २०४३ सालमा एसएलसी उत्तीर्ण भएपछि उनी बुटवल बहुमुखी क्याम्पसमा विज्ञान संकायमा भर्ना भए । जातैले पाएको व्यापार गर्ने मतीका कारण उनलाई विज्ञान विषय मन परेन । आईएसीको पढाईबीचमै छाडेर उनी लुम्बिनी वाणिज्य क्याम्पसमा आईकम पढ्न सुरु गरे ।
लुम्बिनी वाणिज्यबाट स्नातक गरेपछि भने उनको यात्रा व्यवसाय क्षेत्रमा सुरु भयो । २०४३ को माघमा एसएलसी दिएपछि रिजल्ट नआउँदासम्म उनी बसको कण्डक्टर भएर हिंडे । आफ्नै बुवाको बसमा कण्डक्टर हुँदा हुँदै उनले गाडी चलाउन पनि सिके । दिनेशका बुवा पुराना यातायात व्यवसायीसँगै राप्ती अञ्चल यातायात व्यवसायी संघका संस्थापक कोषाध्यक्ष हुन् ।
नेवार परिवारको परम्परा सम्हाल्दै उनले पढाईसँगै बुटवलको राममन्दिर लाईनमा २०४५ सालमा फेन्सी पसल राखेर व्यवसायिक यात्रा सुरु गरे । फेन्सी पसलले दिनेशलाई खासै सफलता दिन सकेन । ‘आफुले नजानेर हो वा नफापेको फेन्सीबाट खासै नाफा देखिएन ।’ दिनेशले स्मरण गर्छन् ।
फेन्सीको असफलताकैबीच उनको विवाह भयो । उनले बुटवल माविका अत्यन्त लोकप्रिय हेडमास्टर सुृर्यमान श्रेष्ठको छोरीसँग प्रेम विवाह गरे । विवाह भएलगत्तै उनले व्यवसाय परिवर्तन गर्दै फेन्सी पसल छाडेर किराना पसलबाट व्यवसायिक यात्रा सुरु गरे । अमरपथको हिराप्रसाद श्रेष्ठको घरमा उनले किरानाको होलसेल पसल खोले । बुटवलमा त्यतिबेला किरानाको पसल उधुम चल्यो । उनको पसल चलेको देखेर उत्पादकहरु उनलाई डिलर दिन निकै लालायित हुन थाले । उनले पसल सँगसँगै योयो चाउमिनको फ्याक्ट्री पनि खोले । २०५८ सालसम्म पुग्दा उनी केही कम्पनीका अधिकृत विक्रेता बनिसकेका थिए । त्यतिबेला खुब चल्ने रुची चाउचाउको डिलरबाट उनको डिष्ट्रिब्युटरको यात्रा पनि थपियो । २०५९ सालदेखि उनको बिजनेशमा लिकर्स व्यवसाय पनि थपियो र उनी मदिराको डिस्ट्रिब्युटरको काम सुरु गरे । अहिले पनि उनी मदिरा व्यवसायीसहित त्यससँग सम्बन्धित केन्द्रीय संस्थाको सल्लाहकार रहेका छन् ।
व्यापार सँगसँगै २०५९ सालदेखि उनको व्यवसायिक नेतृत्वको यात्रा पनि सुरु भयो । २०५९ सालमा दिनेश कार्यसमिति सदस्य पदमा बुटवल उद्योग वाणिज्य संघमा प्रवेश गरे । २०५९ देखि ६८ कार्यसमिति सदस्य ४ कार्यकाल, २०६८ देखि ७१ सम्म सचिव, २०७१ देखि २०७४ सम्म कोषाध्यक्ष, २०७४ देखि ७७ महासचिव, ७७ देखि ८० सम्म वरिष्ठ उपाध्यक्ष बनेर २१ वर्ष अनवरत संघमार्फत उद्योगी व्यवसायीको दिनेशले सेवा गरे । मुसुक्क हाँसेर बोल्ने, सबैसँग सजिलो व्यवहार गर्ने र ठालु नपल्टने दिनेशको सरल स्वभावका कारण उनी अहिले सम्म चुनाव हारेका छैनन् । सजिलै घुलमिल हुन सक्ने दिनेशको खुबीको सबैले प्रशंसा गर्ने गर्दछन् ।
सामाजिक क्षेत्रमा यस्तो छ सहभागीता
१० कक्षामा पढ्दा पढ्दै दिनेश जुनियर रेडक्रस सर्कलबाट जापान गए, १ महिना जापानको भ्रमण गरे । त्यतिबेला कुनै बहानामा जापान जस्ता देश छिर्ने र भागेर काम खोज्ने चलन भए पनि दिनेशलाई त्यो लालचले छोएन । उनी फर्केर आए र व्यापारसहित सामाजिक दायित्व पनि निभाउँदै गए । उनी १९९७÷९८ सालमा लियो क्लब अफ बुटवलको अध्यक्ष भए । उनले आफ्नो नेतृत्वको विकास गर्दै २००५ मा बुटवल जेसिजको अध्यक्ष बने । सन २०१७÷१८ मा बुटवल लायन्स क्लबको अध्यक्ष हुँदै लायन्स ३२५ पी नेपालको कोषाध्यक्ष सम्म पुगेर उनले सेवा गर्ने काम गरे ।
यस्तो छ अध्यक्ष जित्ने आधार
उनको सरल मिजासका कारण संघको कार्यसमितिमा प्रवेश गरेदेखि नै उनी हारेका छैनन् । कार्यसमितिको सबै पदको जिम्मेवारी निभाइसकेपछि अब अध्यक्षको अधिकार आफ्नै भएको दिनेश बताउँछन् । संघको नेतृत्व चलाउने अनुभवका हिसाबले र सानो व्यापारबाट सुरु गरेर व्यापारीको समस्या नजिकबाट अनुभुति गरेकाले पनि आफु अध्यक्षका लागि सक्षम उम्मेदवार बन्न सक्ने दिनेशको दावी छ । उनले बुटवलमा घरबहालको कुरा, भन्सारको कुराहरु, अन्डर बिलिङ, पार्किङ, करको झन्झट, बैंकको अव्यवहारिक निती जस्ता मुद्दाहरुलाई मुख्य मुद्दाका रुपमा रहेको बताउँछन् । ‘स्थानीय तहसँग घरबहाल कानुन छैन, घरधनीले तिर्नुपर्ने बहालकर जबर्जस्ती व्यवसायीबाट असुलिन्छ,’ उनी भन्छन्, ‘कर प्रणाली पनि अवैज्ञानिक छ, सरकार व्यावसायीलाई दुहुनो गाई मात्र सम्झन्छ ।’
श्रेष्ठको भनाइमा व्यवसायीको समस्यासँग जुध्न सशक्त र एकताबद्ध टीम आवश्यक पर्दछ ।
दिनेशको एजेण्डामा बुटवलको विकास गर्न पर्यटन प्रमुख आधार भएको उल्लेख छ । जबसम्म पर्यटक भित्राउन सकिन्न तबसम्म बुटवलको विकास सम्भव नहुने उनी बताउँछन् । तराई र पहाडको संगमस्थल बुटवलसँग शितल पनि छ, गर्मी पनि रहेको भन्दै भारतका पर्यटकहरुलाई भित्राउन सकेमात्र बुटवलको विकास गर्न सकिने उनको भनाइ छ ।
बुटवलमा रात्रीकालिन बजार स्थापना, सबैतिरबाट बुटवल आउने सहज बाटोघाटो, बुटवलमै कच्चा पदार्थ उत्पादन गर्न सक्ने उद्योगको स्थापना, बुटवलको व्यापारीको सिधै हिमालय पारीको व्यापारमा पहुँच हुन सकेमात्र बुटवललाई गुल्जार बनाउन सकिने दिनेशको ठहर छ ।
बुटवलको बजारले काठमाडौंसँग प्रतिष्पर्धा गर्न बुटवलमा उद्योग स्थापना र सिधै तेस्रो मुलुकबाट आयातको क्षमता बढाउन जरुरी रहेको दिनेशले बताउँछन् । काठमाडौंकै मुल्यमा आयातित विदेशी सामान तथा वीरगन्ज र विराटनगरकै मूल्यमा किराना तथा बिसातखानाका सामान बुटवलमा उपलब्ध हुन सके आधा नेपालको व्यापार पुनः बुटवलले धान्न सक्ने दिनेशको सपना रहेको छ ।
‘इतिहासमा मुस्लिम र मधेशी समुदायले ल्याएको नुन बोकेर बुटवल बन्यो, थकालीले पकाएका खाना खाएर बुटवलको आकर्षण बढ्यो र नेवार समुदायले व्यापारको संस्कार बसाल्यो, मगर गुरुङको सँस्कृतिले पहिचानको झल्को दियो ।’ उनी भन्छन्, ‘ती सबैलाई कदर गर्नुपर्छ तर बुटवल सबै भाषा, धर्म, जाती र समुदायको साझा संगम स्थल पनि बनाउनुपर्छ ।’
दिनेश भन्छन,‘ बजारमा केही हल्लाहरु आएका छन् । तर, पूर्व अध्यक्षहरुको मलाई पूर्ण समर्थन छ । अहिलेसम्मकै जेष्ठ पूर्व अध्यक्ष महेशकुमार राजभण्डारीले समेत खुट्टाले हिड्न नसक्दा पनि मलाई भेटेर आशिर्वाद दिनआउनुभयो त्यसले मलाई थप हौसला प्रदान गरेको छ । हरेक दिन दिनेश प्यानलको घरदैलोमा सबै पूर्वअध्यक्षहरुको उपस्थितीले पनि आफ्नो जीत सुनिश्चित भएको दिनेशको दावी छ । (कुराकानीमा आधारित)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij