
आइतवार , आश्विन २१, २०८०
रुपन्देही, २१ असोज ।
नेकपा (एकीकृत समाजवादी) का शिर्ष नेताहरुले गरिबी र बेरोजगारी अहिलेको मुख्य समस्या भएको बताएका छन । दलाल पूँजीवादका कारण मुलुकमा चरम निराशा र संकट देखा परेको भन्दै त्यसबाट उन्मूक्तिका लागि समाजवादी व्यवस्था अपरिहार्य भएको नेताहरुको भनाइ छ ।
२०६२/६३ सालको जनआन्दोलनपछि जनताको अधिकारलाई संविधानमा लेख्न सफल भएको तर, राजनीतिक रुपमा नेतृत्वमा देखिएको विचलनका कारण मुलुकमा संकट गहिरिँदै गएको नेताहरुको भनाइ छ ।
नेकपा (एकीकृत समाजवादी) को मेची–महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आइतबार बुटवल र भैरहवामा भएका जनसभालाई सम्बोधन गर्दै शिर्ष नेताहरुले रोजगारी, समृद्धि र सुशासन राष्ट्रको मुख्य एजेण्डा बन्नुपर्ने बताए ।
भैरहवामा आयोजित जनसभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मुलुक बनाउने एजेण्डाबाट दलहरु विचलित हुँदै गएकाले जनतालाई जगाउने गरी जागरण अभियान सुरु गरिएको बताए । उनले देशव्यापी रूपमा जागरण पैदा गरेको समेत बताए । उनले जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियानमा निस्केकाले देशभरबाट जनताले साथ दिइरहेको बताए । उनले जनताको जीवनस्तर सुधार गर्न आवश्यक रहेकाले जनताकै विचमा जनताका मुत्ता लिएर अगाडि आएको बताए । उनले बेरोजगारी समस्या समाधान गर्ने गरी कृषिबाटै आत्मनिर्भर हुने सकिने बताए । अध्यक्ष नेपालले अझै पनि किसानहरूले समस्या झेलिरहेकाले त्यसका लागि समाधान गर्न सरकारसँग कुरा गर्ने बताए ।
त्यस्तै बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं सम्मानित नेता झलनाथ खनालले ३०६२/६३ सालको जनआन्दोलनपछि मुलुकको नेतृत्व दलाल पूँजीवादले गरेकाले देशमा चरम संकट देखा परेको बताए । उनले परिवर्तनको १८ वर्षको अवधिमा पूँजीवादी नेतृत्वका कारण पूँजीवादी शोषण बढ्दै गएको उनले बताए । उनले पूँजीवादी शोषणका कारण गाउँगाउँमा वित्तीय र व्यापारिक शोषण बढेको टिप्पणी गरे ।
‘हिजो सामन्ती शोषण कायम थियो, त्यो भन्दा खतरनाक दलाल पूँजीबादको शोषण हुन्छ’ खनालले भने । नेता खनालले ०६२/६३ पछि बनेको राजनीतिक शक्तिमा आएको दक्षिणपन्थी अवसरवादका कारण मुलुकमा आर्थिक, राजनैतिक संकट गहिरिन थालेको बताए । उनले नेकपा र त्यसबाट बनेको शक्तिले काम गर्न सक्ने अवस्थामा त्यसबाट राजनीति नै विचलित हुँदा यो परिणाम आएको बताए । उनले देशमा भ्रष्टाचार व्यापक रुपमा बढेको बताउँदै यसका लागि समेत अब समाजवादी व्यवस्थाको अपरिहार्य रहेको बताए । ‘कमिशन, नाफाको पछि दौडिएको हामीले देखेका छौं, दलाल पूँजीवादको चरित्र नै यस्तो हुन्छ’ उनले भने–‘अब नेपालको मात्रै होईन, सिंगो विश्व नै समाजवादमा जानुपर्छ, त्यसमा जान्छ ।’
जनसभामा बोल्दै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक बनाउने संकल्पका साथ समाजवादी जागरण अभियान सुरु गरिएको बताए । उनले आफुहरुले भनेको कुरा नयाँ नभए पनि संकल्प र योजनाका साथ मुलुक बनाउने गरी समाजवादी जागरण अभियान शुरु गरिएको बताए । उनले मुलुकका छोराछोरी मुलुकमा बस्न नसकेको अवस्थामा यसले १० वर्षपछि ल्याउने भयंकर खतराबाट मुलुक जोगाउन पनि जागरण अभियान सुरु गर्नुपरेको बताए । उनले बेरोजगारी उन्मूलन गर्ने, देशमा शिक्षा स्वास्थ्यलाई निःशुल्क बनाउने र मुलुकलाई कृषिबाटै समृद्धिमा जाने संकल्पका साथ आफुहरुले योजना अघि सारेको बताए ।
उनले आफूहरुले संविधानको रक्षा गरेको र अब मुलुकमा रहेको गरीबी र बेरोजगारी उन्मूलन गर्ने एजेण्डासहित जनताका बीचमा आएको बताए । उनले बेरोजगारी समस्या समाधान गरी सुसाशन, समृद्विका लागि समाजवादी जागरण अभियान सुरू गरिएको बताए । महासचिव भुसालले मुलुक बर्बाद पार्न खोज्ने सबै शक्तिका विरूद्व लडने बताए । उनले अहिले धर्म र जातिका नाममा लडाएर बेरोजगारी र गरीबी उन्मूलनको मुद्दालाई छायामा पार्ने प्रयत्न गरेको भन्दै त्यसकाविरुद्ध लाग्नुपर्ने बताए ।
भैरहवामा भएको जनसभामा पार्टीका उपमहासचिव डा. विजय पौडेलले समाजवादी पार्टी निर्माणका लागि मेचिमहाकाली अभियान सुरू गरिएको बताए ।
कार्यक्रममा पार्टी रूपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादव, सचिव सरिता श्रीस, नेता रामबहादुर बस्नेत, युवा नेता शार्दुल मयूर कसौधनलगायतले बोलेका थिए । समाजवादी जागरण अभियानले आइतबारै रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा पनि कार्यक्रम गरेको थियो । टोली अब बुटवलबाट पश्चिमतर्फ लाग्नेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij