२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

असोज २८ देखि भैरहवामा दशैं सस्तो बजार सञ्चालन हुने

सोमवार , आश्विन २२, २०८०

भैरहवा, २२ असोज ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवामा दशैं सस्तो बजार–२०८० सञ्चालन गर्ने भएको छ । यही असोज २८ देखि कार्तिक ३ गतेसम्म बजार सञ्चालन गर्ने संघले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । बजार सिद्धार्थनगर–१२ कालिकापथस्थित संघ परिसरमा सञ्चालन हुनेछ ।

IMG_0776.JPG

स्वदेशी तथा गुणस्तरीय वस्तु एवं सेवाहरुको उपभोगप्रति सचेत गराउने तथा आउँदै गरेको नेपालीहरुको महान चाडपर्वहरुमा आम उपभोक्ताहरुलाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गर्ने उद्देश्यले बजार सञ्चालन गर्न लागिएको संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । विभिन्न उद्योग, व्यवसायीहरुसँगको सहकार्यमा उपभोक्तालाई सर्वसुलभ रुपमा एकै थलोबाट सहज तरिकाले दैनिक उपभोग्य वस्तुहरु विक्रीवितरण गर्ने, स्थानीय खाद्य पदार्थको प्रवद्र्धन तथा उचित मूल्यबारे जानकारी गराउने पनि बजार सञ्चालनको उद्देश्य रहेको श्रेष्ठले बताए ।

‘६ दिनको संघको हाम्रो प्रयासबाट केही हदसम्म भए पनि भैरहवामा आर्थिक चलायमान हुने, स्वदेशी उद्योगी व्यवसायका उत्पादनहरुको प्रचारप्रसार हुने र आम उपभोक्ताहरुले सर्वसुलभ रुपमा उपभोग्य वस्तुहरु खरिद गर्ने अवसर प्राप्त गर्नेछन्, ’श्रेष्ठले भने । 

विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुको सहभागीता रहने दशैं बजारमा दैनिक उपभोग्य खाद्यान्न, जुत्ता, चप्पल, घरेलु उत्पादन, खाजा घर, दुईपांग्रे अटोमोबाईलसहितका २० देखि २५ वटा स्टलहरु रहने आयोजकले जनाएका छन् । बजारमा स्थानीय भैरहवा क्षेत्रबाट करिब १५ हजार उपभोक्ता तथा अवलोकनकर्ता आउने र करिब ५० देखि ६० लाख रुपैयाँ बराबरको कारोबर हुने अनुमान गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघले जनाएको छ । 

उपभोक्ताहरुले विभिन्न स्टलहरुबाट ५ हजार रुपैयाँ भन्दा माथिको सामान खरिद गरेको बीलको आधारमा भैरहवास्थित काशी सिनेप्लेक्सबाट एउटा टिकट निःशुल्क व्यवस्था समेत गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आयोजकका अनुसार दशैं बजारमा उपभोक्ता तथा अवलोकनकर्ताहरुको सुरक्षालाई मध्यनजर गरी सीसीटिभी क्यामेरा जडान गरिएको छ । 

संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले दशैं सस्तो बजार अवधिका लागि उत्पादक तथा व्यवसायीसँग सम्पर्क गरेर होलसेल मूल्यमा उत्पादित वस्तु उपलब्ध गराउन लागिएकाले अन्य समयको तुलनामा सामान सस्तो हुने बताए ।

संघका कार्यसमिति सदस्य एवं दशैं बजार–२०८० का संयोजक अर्जुन कार्कीको स्वागत तथा संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सिद्धार्थ उद्योग वाणिज्य संघले पहिलोपटक वि.सं. २०५८ साल कार्तिक १ देखि ६ गतेसम्म भैरहवा नमूना उच्च माध्यमिक विद्यालय परिसरमा दशैं बजार, कार्तिक २४ देखि २६ गतेसम्म संघ परिसरमा तिहार बजार सञ्चालन गरेको थियो । त्यस्तै दोस्रोपटक वि.सं. २०५९ साल असोज २१ देखि २६ गतेसम्म र तेस्रोपटक वि.सं. २०७९ साल असोज ११ देखि १४ गतेसम्म संघ परिसरमा दशैं बजार सञ्चालन गरेको थियो ।