
सोमवार , आश्विन २२, २०८०
भैरहवा, २२ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरत कुमार शाहले सरकार बचाउन सधै लागिरहने अनि जनताको काम कहिले गर्ने भन्दै प्रश्न गरेका छन् । उनले सरकार बचाउन मात्र सबै समय खर्चिने तर जनताको काम गर्न नसक्ने हो भने झन जटिल परिस्थिति आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सोमबार भैरहवामा नेपाली कांग्रेस क्षेत्रीय समिति, क्षेत्र नम्बर ३, रुपन्देहीले केन्द्रीय सदस्य शाहको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै शाहले पार्टीले नभइ सरकारले काम गर्नुपर्ने बताए । उनले पार्टीको मान्छेले सरकारलाई सहयोग गर्ने र सरकारले गरेका कामलाई प्रचार गर्ने बताए ।
उनले भने, ‘आज हामी सरकारमा छौं । सरकारले राम्रो काम गर्छ कि गर्दैन भनेर जनताले मूल्यांकन गर्छ । पार्टीले जनतालाई मल, रोजगारी दिन र महंगी घटाउन सक्छ ? देशको परिस्थिति ठीक छैन । तर, यति पनि जटिल छैन कि सुधार्न सकिदैन । म अर्थराज्यमन्त्री भएँ, सार्वजनिक लेखा समितिको सभापति भए, ३२ वर्ष उद्योगधन्दा चलाए । मलाई एक–एक कुरा थाहा छ ।’
अहिले हरेक व्यक्ति परेशान रहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँदा आँखाबाट आँसु आउने गरेको नेता शाहले बताए । उनले भने, ‘दैनिक २ हजार ५ सय मानिस विदेश गइरहेका छन् । ’
केन्द्रीय सदस्य शाहले नेपालमा शिक्षा र स्वास्थ्यको निःशुल्क व्यवस्था हुनुपर्ने माग गरे । उनले पत्थरीको अपरेशन गर्न ४० हजार रुपैयाँ खर्च हुन्छ र त्यो ४० हजार गरीबले कहाँबाट तिर्ने भन्दै प्रश्न गरे । बाटोघाटो बनाउन नसके पनि शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकताहरु पूरा गर्नुपर्ने उनको भनाइ छ ।
उनले आफू रुपन्देहीका जनताप्रति ऋणी भएको र आफ्नो तीन पुस्ताले पनि त्यो ऋण तिर्न नसक्ने बताए । शाहले बाँकी जीवन पनि जनताप्रति नै समर्पित गर्ने बताए । उनले भने, ‘म ठूला ठूला पदमा पुगे तर, आजसम्म कसैको एक पैसा पनि खाएको छैन । ’ अहिले नेपाली कांग्रेसको केन्द्रीय समितिमा हुँदा गौरवान्दित भएको उनले बताए । उनले भने, ‘यो सानो समिति होइन । नैतिकतामा ह्रास हुने कुनै काम गर्दिन । ’
नेता शाहले नेपालगंजमा साम्प्रदायिक दंगा भएको र रुपन्देहीमा पनि गराउन खोजिएको बताए । उनले भने, ‘हाम्रो देशमा सबै धर्मावलम्बीहरु वर्षौदेखि मिलेर बसेका छन् ।’ एक–अर्कालाई आक्रमण गर्ने खालको प्रवत्ति नेपालीमा नरहेको उनले बताए । देशमा दक्षिणपन्थी र पुरातनवादीहरुको घुसपैठ भएको उनको भनाइ छ ।
‘यस्ता गृहमन्त्री राखेर यो देशमा शान्ति हुँदैन’
कांग्रेस केन्द्रीय सदस्य भरत कुमार शाहले बहालवाला गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति आक्रोश व्यक्त गरेका छन् । कार्यक्रममा शाहले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण जेलमा जानुभएको छ । उहाँलाई फसाइएको छ । यसमा गृहमन्त्रीको बदमासी छ । नेपालगंज, सर्लाहीमा पनि दंगा भयो । यस्ता गृहमन्त्री राखेर यो देशमा शान्ति हुँदैन ।’ उनले नक्कली भुटानी शरणार्थी प्रकरणको योजनाकार केपी ओली भएको दावी गरे ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्य तथा लुम्बिनी प्रदेश सांसद् देवी प्रसाद चौधरी, महासमिति सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, संविधानसभा सदस्य जैतुन निशा, कांग्रेस जिल्ला सचिव हरि काफ्ले, महाधिवेशन प्रतिनिधि बसन्त कुमार लाल कर्ण, क्षेत्र नम्बर ३ (क) का उपसभापति गोविन्द प्रसाद बस्याल, सिद्धार्थनगर उपसभापति देवराज न्यौपाने, सिद्धार्थनगर–१० का बुथ सभापति विजयनाथ धवल, नेता घनश्याम चालिसे लगायतले बोल्दै रुपन्देहीका अभिभावक भरत कुमार शाहलाई केन्द्रीय सदस्यको रुपमा पाउँदा निकै खुसीको अनुभुति भएको बताए ।
कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङको सभापतित्व तथा सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij