२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

ओली जस्तो प्रधानमन्त्रीलाई दुईदिनमै पदबाट निकाल्ने व्यवस्था संविधानमा हुनुपर्छ : कृष्ण पहाडी

शुक्रवार , माघ १६, २०७७

नवलपरासी, १६ माघ।
केपी ओली जस्तो प्रधानमन्त्रीलाई दुईदिनमै पदबाट निकाल्ने व्यव्स्था संविधानमा उल्लेख हुनुपर्ने मानव अधिकारकर्मी तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीले बताएका छन् । शुक्रबार पश्चिम नवलपरासीमा मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाको २० औं जिल्ला साधारणसभा तथा ११ औं जिल्ला अधिवेशनको अवसरमा आयोजित अंसैवधानिक एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा विघटनः प्रतिगमनको सिलसिला विषयक गोष्ठी कार्यक्रममा बोल्दै पहाडीले सो कुरा बताए ।

एउटा प्रधानमन्त्रीलाई दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने विषय संविधानमा उल्लेख गरिनु गलत रहेको बताउँदै पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प र नेपाली प्रधानमन्त्री ओलीजस्तो नेता भए दुईदिनमै पदबाट निकाल्ने व्यबस्था संविधानमा उल्लेख हुनुपर्ने उनले बताए ।

‘राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र संविधान जारी गर्ने बेलाका तत्कालीन सभामुख सुवासचन्द्र नेवाङ देशलाई स्थिरताको दिशामा अगाडि बढाउने अग्रसर रहेकाले उहाँहरु अहिले कुपात्रमा अनुवाद भएको छ,’ उनले भन्नुभयो ‘भारतमा संविधान जारी गर्ने समयका सभामुखको शालिक बनेको छ, यहाँका सभामुख भने भित्रभित्रै  प्रतिगमनको मतियारको लेखनदास भएकाले मुख नै देखाउन नसक्ने गरी लुक्दै हिड्नुभएको छ ।’

संविधानलाई तोड्दै गृहयुद्धमा देशलाई धकेल्ने दिशातर्फ प्रधानमन्त्री केपी शर्मा ओली अग्रसर हुँदै गएकाले गत १२ गते काठमाडौंमा नागरिक समाजले गरेको विरोध कार्यक्रममा निषेधित क्षेत्र तोड्न बाध्य भएको बताउँदै आफुहरुको शान्तिपूर्ण विरोध कार्यक्रममा पानीको फोहोराले हानेर प्रहरीले दमन गर्न खोज्नु विद्रोहको सुरुवात भएको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल, संविधानसभा सदस्य विक्रम खनाल, शान्ति समाज नेपालका केन्द्रिय सभापति उत्तम पुडासैनी लगायतले संसद् विघटनकाविरुद्ध आफ्नो धारणा राखेका थिए । त्यस्तै कवि अर्जुन पराजुलीले कवितामार्फत वर्तमान राजनीति अवस्थामाथि व्यग्ंय गरेका थिए । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाको ११ औं अधिवेशनबाट सन्तोष अधिकारी सभापति रहने गरी ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।