
बिहिवार , आश्विन २५, २०८०
भैरहवा, २५ असोज ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित एनजी मार्केट कम्पनीले आफ्नो औपचारिक उद्घाटन कार्यक्रममा एक हजार जना ग्राहकलाई ३ करोडका उपहार वितरण गर्ने योजना सार्वजनिक गरेको छ ।
२ अर्ब एकल लगानी रहेको मार्केटको आगामी २०८१ वैशाख १ गते उद्घाटन गर्ने र सोही अवसरमा नियमित ग्राहकलाई गोलाप्रथामार्फत उपहार उपलब्ध गराउने गरी योजना सार्वजनिक गरिएको हो ।
गत वर्ष अनौपचारिक सञ्चालनमा आएको मार्केटले आगामी मंसिर ७ गते उद्घाटन गर्ने गरी योजना सार्वजनिक गरेको थियो । तर, आर्थिक मन्दीका कारण २०८१ वैशाखसम्म सार्नुपरेको कम्पनीका अध्यक्ष नारायण बन्जाडेले बताए । उनका अनुसार मार्केटले एकहजार जनालाई १० प्रकारका उपहार योजना ल्याएको हो । उपहार योजनामा बम्पर योजनाअन्तर्गत १ जनालाई तिलोत्तमा नगरपालिकाभित्र १० धुर जग्गामा निर्माण गरिएको १ हजार ६ सय स्क्वायर फुटको साढे दुईतले घर उपलब्ध गराइनेछ ।
उनका अनुसार २०८१ वैशाख १ गते लक्की ड्र खोलिनेछ । त्यस्तै उपहार योजनाअन्तर्गत १ जनालाई किया ब्राण्ड कार, १ जनालाई रोयल एनफिल्ड ३५० सीसीको मोटरसाइकल र १ जनालाई भेस्पा स्कुटरसमेत प्रदान गरिनेछ ।
बन्जाडेका अनुसार १५ जनालाई एक टन क्षमताको एयर कन्डिसनर, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई टप लोड वासिङ मेसिन, २५ जनालाई ५५ इन्चको टेलिभिजन, १२५ जनालाई राइस कुकर र ८०१ जनालाई क्लोथ आइरन गरी १ हजार जना ग्राहकलाई उपहार प्रदान गरिनेछ ।
कम्पनीका प्रबन्धक आवाश बन्जाडेले ‘लक्की ड्र’ प्रतियोगितामा सहभागी हुनका लागि दैनिक घरायसी सामान खरिद गर्दा एनजी मार्केटको ग्राहक सदस्यता लिनुपर्ने नियम बनाइएको जनाए ।
त्यस्तै १० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा ५ हजार रुपैयाँ बराबरको लुगा, कपडा तथा जुत्ताको खरिदमा लक्की ड्र कोड भएको कुपन उपलब्ध गराइने छ । यस्तै एनजी रेष्टुरेण्टमा एकपटकमा ५ हजारको खानपिन बीलमा एउटा लक्की ड्र कुपन प्रदान गरिने छ । सामानको खरिदमा एउटै नम्बरका दुई वटा लक्की ड्र कोडयुक्त कुपन ग्राहकलाई प्रदान गरिने छ । त्यसमध्ये एउटा लक्की ड्र बक्समा खसाल्नुपर्ने छ भने अर्को सुरक्षित साथ राख्नुपर्ने छ । उपहार हस्तान्तरण गर्दा लाग्ने कर भने विजेताले नै व्यहोर्नु पर्नेछ ।
सामान किन्न भारतीय बजार जाने नेपाली उपभोक्ता रोक्नका लागि लक्षित गरेर २ अर्बको लगानीमा गत वर्षदेखि एनजी मार्केट सञ्चालनमा आएको थियो । कम्पनीको योजनाले ग्राहकहरुलाई तान्ने विश्वास गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij