२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

गठबन्धन सरकारको गलत निर्णयले अपराधी प्रोत्साहित भइरहेका छन् : विष्णु पौडेल

आइतवार , आश्विन २८, २०८०

रुपन्देही, २८ असोज ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गठबन्धन सरकारको गलत निर्णयले अपराधी प्रोत्साहित भइरहेको आरोप लगाएका छन् । उनले दिनदहाडै मान्छे मान्ने अपराधीलाई सरकारले रिहा गर्न आफ्नो अधिकार दुरुपयोग गरेको आरोप लगाए ।

आइतबार प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा बोल्दै पौडेलले भने, ‘सरकारले राजनीतिलाई अपराधीकरण गरेर भद्दा मज्जाक गरेको छ । ’उनले मुलुकमा सरकार छ कि छैन भन्दै प्रश्न गरे ।

मुलुकको अर्थतन्त्रको ढाँड भाचिएको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको बताएका छन । देशमा आर्थिक विकास र समृद्धि, सुशासनका क्षेत्रमा कहालीलाग्दा समस्याका चाङहरू हुँदा समेत सरकारको ध्यान सत्तामा बस्न र टिक्नमा मात्र केन्द्रित रहेको दावी गरे । 

‘मुलुकको अर्थतन्त्रलाई चान्ने चुन्ने उपचार गरेर होइन, मेजर अपरेशन गर्नुपर्ने अवस्था रहेको स्वयं प्रधानमन्त्रीले भनिरहनुभएको छ । सरकारल् अपरेशन त परै जाओस् सिटामोल समेत दिनका सकेको छैन । अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले काम गरेन् ।’ 

‘कर्मचारीले ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था छ । निर्माणसम्पन्न गरेका आयोजनाहरुको भुक्तानी गर्न सकेको छैन । पेन्सन र सामाजिक सुरक्षा खुवाउनु आन्तरिक ऋण लिनुपर्ने अवस्थाले अर्थतन्त्र असाधारण अवस्थामा पुगेको छ सरकार गम्भीर हुनुपर्याे’ उपाध्यक्ष पौडेलले थपे । उनले सरकारले आर्थिक क्षेत्रमा रहेको बेथितिको संरक्षण गरेको बताए । नेता पौडेलले अहिलेको देशको अर्थतन्त्र चिन्ताजनक अवस्थामा रहेको यो समस्यालाई सरकारले हल्का रुपमा लिन नहुने बताए । 

मुलुकको राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादाविपरीत राजनीति गरेको समेत पौडेलले दावी गरे । ‘राष्ट्रपति दलको नेताजस्तो बन्ने होइन’ उपाध्यक्ष पौडेलले भने, ‘कुनै बेला अमुक दलको नेता हुनुहुन्थ्यो । अब त्यस्तो होइन । कुनै दल विशेषको पैरवी गर्ने होइन । तर कांग्रेसलाई भोट गरेको धन्यवाद ज्ञापन गर्ने, पार्टीका नेताको आन्तरिक विवाद मिलाउन फोन गर्ने होइन । आफनो मर्यादामा बस्नुपर्छ । राष्ट्रपति आम नेपालीको साझा अभिभावक बन्नुपर्छ ।’

कोशी प्रदेशमा सरकारले तमासा गरेको बताए । कोशी प्रदेश सरकारको लागि एमालेले कुनै खेल नखेकोलेको स्पष्ट पार्दै नेता पौडेलले मुख्यमन्त्री केदार कार्कीलाई सहयोग गरेर प्रदेशलाई संकटतर्फ जानबाट जोगाएको बताए । मुलुकमा धार्मिक सदभावमा खलल पुर्याउने र साम्प्रदायिक सदभाव र आपसी सम्बन्धलाई बिथोल्ने प्रयासहरु भइरहेकोप्रति सबै सचेत बन्नुपर्ने अवस्था आएको नेता पौडेलको भनाइ छ । उनले सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । 

प्रेस चौतारी नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता, सचिवालय सदस्य एवं कार्यक्रम संयोजक अस्मिना पाण्डेको स्वागत तथा सचिव केशव भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा निर्वाचित सुरज भण्डारीलाई सम्मान गरिएको थियो ।