
सोमवार , आश्विन २९, २०८०
रुपन्देही उद्योग संघको असोज २९ गते सोमबार (आज) हुने निर्वाचनमा विशाल बेलबासेले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तापछि उनले आफ्नो निर्वाचना प्रचार प्रसारलाई तीव्रता दिदै उद्योगीहरुका बीचमा पुगेका छन् ।
विगत लामो समयदेखि रुपन्देही उद्योग संघको कार्यसमिति सदस्य रहेर काम गर्दै आएका उनले यसपटक सह–कोषाध्यक्षमा पदमा उम्मेदवारी दिएका हुन् । वि.सं. २०७० सालमा संघको सदस्यता लिएका उनले उद्योग संघको सदस्यता लिएको छोटो अवधिमै संघको वस्तुगत समितिको संयोजकको जिम्मेवारी पाएका थिए । उनले २०७२ देखि २०७६ सम्म संघको राइस तथा आयल मिल वस्तुगत समितिको संयोजकको रुपमा रहेर सफल कार्यकाल सम्पन्न गरेका छन् । उनले संघमा २०७६ सालदेखि २०८० सम्म दुई कार्यकाल कार्य समिति सदस्यको रुपमा जिम्मेवारी पूरा गरेका हुन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित ड्राइभरटोलमा २०५६ सालदेखि मनकामना राइस मिल संचालन गर्दै आएका उनी रुपन्देही उद्योग संघ सँगै अन्य संघ–सस्थामा पनि उत्तिकै सक्रिय छन् । मिल व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष समेत रहेका बेलबासे सहज बचत तथा ऋण सहकारी सस्थाका वरिष्ठ उपाध्यक्ष र लायन्स तथा रोटरी क्लबहरुमा विभिन्न पदमा क्रियाशिल छन् ।
संघको सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका बेलबासेले आफ्नो उम्मेदवारी संघको सदस्यमा रहेर आफुले सिकेको अनुभवहरुलाई उद्योगीको समस्या समाधानका लागि लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले संघको विभिन्न पदमा रहेर उद्योगीहरुको समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएको र सधै उद्योगीहरुको हितमा लाग्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij