
आइतवार , माघ १८, २०७७
बुटवल, १८ माघ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले वर्तमान ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको बताएकी छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै संग्रौलाले सरकारको प्रतिगामी, अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिने विश्वास समेत व्यक्त गरिन । ‘हामी प्रजातन्त्रमा विश्वास राख्दछौँ । स्वतन्त्र न्यायलयले संविधान बमोजिम, कानून बमोजिम निर्णय लिनेछ’–उनले भनिन् ।
संविधान, कानून तथा विधि कुनै कुरा मान्दिन भन्नु सर्वसत्तावाद भएको स्मरण गर्दै कम्युनिष्टहरु पतनको स्थितिमा गइसकेको बताइन् । लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा रहेको उनको भनाइ छ । उनले पाँच वर्षका लागि स्थापित जनताको थलोलाई समय अगावै लहडका आधारमा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दावी गरिन् ।
न्यायपालिकामा भएको बहसलाई ‘वाइयात’ भन्न,े फरक मतलाई होच्चाउने कार्यपालिका प्रमुखको नैतिकता नरहेको उनले बताइन् । लोकतान्त्रिक पार्टी निर्वाचनबाट भाग्न नसक्ने भन्दै उनले निर्वाचन विधिसंगत हुनुपर्ने बताइन् । साक्षात्कार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij