
बुधवार , कार्तिक १, २०८०
रुपन्देही, १ कार्तिक ।
सैनामैना व्यापार संघ सैनामैना, रुपन्देहीको आयोजनामा मुर्गियामा दशैं सस्तो पसल सञ्चालन गरिएको छ । राजमार्ग किनारको खाली ठाउँमा दैनिक उपभोग्य वस्तुहरुको मूल्यसूचीसहित सुरु भएको सस्तो पसल तीन दिनसम्म चल्नेछ ।
सस्तो पसलको बुधबार बिहान एक समारोहकाबीच सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले शुभारम्भ गरे । नगरप्रमुख शर्माले सस्तो पसलमा राखिएको उपभोग्य सामान खरिद गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
व्यापार संघले सस्तो पसल शुभारम्भकै अवसरमा दशैं, तिहारलगतका पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको थियो । सोही कार्यक्रममा बोल्दै प्रमुख शर्माले उपभोक्ताको हित र सुविधालाई मध्यनजर गर्दै सस्तो बजार सञ्चालन गरेकोमा व्यापार संघलाई धन्यवाद दिए । उनले नगरपालिकाले करको दायरा बढाएको र संगसंगै सुविधा र प्रोत्साहनका समेत कार्यक्रम सञ्चालन गरेको बताउँदै निजी क्षेत्रको सहकार्यबाटै समृद्ध सैनामैना निर्माण गर्न सकिने बताए ।
कार्यक्रममा नगरपालिकाका संस्थापक प्रमुख चित्र बहादुर कार्कीले नगरपालिकाले उत्पादनमूलक क्षेत्रमा र खाद्य प्रशोधन उद्योग खोल्नेतर्फ दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए ।
व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले यस क्षेत्रका आम उपभोक्ताहरुमा केही भए पनि राहत र सहज होस् र विभिन्न उत्पादनहरु मूल्यसूचीसहित एकैठाउँमा किनमेल गर्न सहज होस् भन्ने उद्देश्यले यो तीनदिने सस्तो बजारको आयोजना गरिएको बताए ।
सकेम्म सस्तो होस् र यहाँ आउने उपभोक्तालाई यो तीन दिनमा केही न केही भए पनि सहज होस् भन्ने उद्देश्यले यो सस्तो बजार सञ्चालन गरिएको अध्यक्ष पौडेलले बताए । ‘आर्थिक मन्दीले सबै क्षेत्र प्रभावित भइरहेका बेलामा हामीले सानो पहलबाट भए पनि उपभोक्तामा केही राहतको अनुभूति हुने काम गरौं भनेर यो जमर्को गरेका हौं’ अध्यक्ष पौडेलले भने–‘हाम्रो यो अभियानमा विभिन्न उद्योगबाट, विभिन्न प्रतिष्ठानहरुबाट सहयोग र सहकार्य भएको छ । यो व्यवस्था मिलाउन हाम्रो सिंगो कार्यसमिति खटिएको छ ।’
कार्यक्रममा नगर उपप्रमुख तथा बजार अनुगमन समितिकी संयोजक बिना राना, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्का, ईलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रदीप पौडेल, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा प्रतिनिधिले शुभकामना व्यक्त गरे ।
सस्तो पसुलमा नुन, तेल, चिनी, मसला, साबुन, सरफ, दाललगायतका दैनिक उपभोग्य सामान राखिएको संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक देवीदत्त सुवेदीले बताए । सकेसम्म सस्तो, सुलभ र सहज तरिकाले यो बजार सञ्चालनको पहल गरिएको सुवेदीको भनाइ छ ।
चाडपर्वका अवसरमा अरु बेला भन्दा धेरै वस्तुको आफन्त, नातेदारहरुको आपसमा जमघट हुने र धेरै वस्तुको उपभोग हुने भएकाले खपत पनि बढ्छ । यहीँ बेलामा किनमेल पनि बढी हुने भएकाले केही दैनिक उपभोग्य वस्तुमा सुलभ मूल्य निर्धारण गरेर यहाँ विक्रीवितरणका लागि राखिएको संघका प्रथम उपाध्यक्ष दीपेन्द्र ढकालले बताए ।
उपभोक्ताहरुले सुविधा अनुसार र तोकिएको परिणाममा यहाँबाट सामान किन्न सक्नेगरी प्रबन्ध मिलाइएको बताउँदै संघका महासचिव भीम सुवेदीले हरेक उपभोग्य वस्तुहरुको मूल्यसूची टाँस गरेर सुलभ दरमा उपलव्ध गराइएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij