२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

नेपालबाट भारतमा इन्धन भर्न जाने गाडी नियन्त्रण गर्न पेट्रोलियम व्यवसायीको माग

बिहिवार , कार्तिक २, २०८०

रुपन्देही, २ कार्तिक ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा भन्दा भारतमा इन्धनको  मूल्य सस्तो भएपछि नेपालबाट भारतमा तेल भर्न जाने गाडी नियन्त्रणमा ल्याउन पेट्रोलियम व्यवसायीले सरकारसंग माग गरेका छन् । सामान लिन जाने बहाना बनाएर सीमा पारी भारत गएर गाडीमा तेल भरेर ल्याउने गलत क्रियाकलाप रोकेर नेपाली व्यवसायीलाई सहयोग पुर्याउन पेट्रोलियम व्यवसायीहरुले सरकार र सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीले विजया दशमी, दीपावली, छठ र नेपाल सम्वतको अवसरमा तिलोत्तमामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने व्यवसायीहरुले कोही कसैले नियतवश गल्ती गरेमा त्यस्ता व्यवसायीलाई कारवाही गर्न प्रहरी प्रशासनलाई सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले  व्यवसायी, कर्मचारी लगायत कसैलाई पनि गलत काम गर्ने छुट नभएको बताए । उनले सेवाग्राही तथा आम जनताको हितमा सेवा प्रवाह गर्न सबैलाई आग्रह गर्दै समाजका हरेक क्षेत्रका बेथिति रोक्न सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले पेट्रोलियम व्यवसायीले आयल निगमले दिएको पेट्रोलियम पदार्थ सहज रुपमा ग्राहक तथा उपभोक्तालाई उपलब्ध गराएको बताए । उनले उपभोक्तामुखी भएर व्यवसायीले  सेवा प्रवाह गरेको बताए । उनले कुनैपनि पेट्रोलियम व्यवसायीले पेट्रोलियम पदार्थमा चुहावट नगरेको बताउँंदै व्यवसायीले चुहावट गर्नै नसक्ने दावी गरे ।

नेपाल आयल निगम प्रदेश कार्यालय भलवारीका प्रमुख इन्जिनियर जगदिशचन्द्र यादवले यस क्षेत्रमा अहिले पेट्रोलियम पदार्थको कुनै समस्या नभएको बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले पेट्रोलियम पदार्थमा हुने मिसावट र सीमा पारीबाट हुने आयात रोक्न सुरक्षाकर्मीको एकल प्रयासले मात्र सम्भव नभएकाले सबैको सहयोग आवश्यक पर्ने बताए । उनले मिसावट र सीमा पारीबाट हुने आयात रोक्न आयल निगमले नेतृत्व गर्नुपर्ने र त्यसका लागि प्रहरी प्रशासनले सुरक्षा दिने प्रतिवद्धता जनाए ।

पेट्रोलियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेले आफूहरुले उपभोक्तामुखी भएर इनधन विक्री वितरण गरेको बताउँदै मागअनुसार इन्धन उपलब्ध गराउन नेपाल आयल निगमसँग माग गरे ।

कार्यक्रममा पश्चिमाञ्चल, ट्यांकर व्यवसायी महासंघका महासचिव भुपेन्द्र अर्याल, नापतौल तथा गुणस्तर कार्यालय प्रदेश प्रमुख शम्भुकुमार झा,  प्रेस सल्लाहाकार खिमानन्द भट्टराई लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
पेट्रोलियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेको अध्यक्षता तथा महासचिव हरिराम कसौधनको सञ्चालनमा कार्यक्रम भएको हो ।