
शुक्रवार , कार्तिक ३, २०८०
भैरहवा, ३ कार्तिक ।
विजया दशमी, दीपावली, नेपाल सम्वत एवं छठपर्वको अवसरमा सिद्धार्थ सञ्जाल, रुपन्देहीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । चाडपर्वहरुको अवसरमा बिहीबार भैरहवामा कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा सञ्जालका कोषाध्यक्ष सतिश कुमार कौशल (दीपक) ले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विश्वको सकारात्मक सोच नै विश्वको सबैभन्दा ठूलो चुनौति भएको बताए । उनले त्यो चुनौतीको सामना गर्दै सकारात्मक सोचको विकास गरेर अघि बढ्न आग्रह गरे । मन्त्री पाण्डेयले भने, ‘जब कठिन समय हुन्छ, हामी खराब परिस्थितिमा हुन्छौं, हामी खुसी हुनुपर्छ किनकी यसपछि राम्रो समय हुन्छ । त्यस्तै जब राम्रो समय हुन्छ, त्यतिबेला सतर्क हुनुपर्छ कि नराम्रो समय नआओस् ।’
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले प्रदेश सरकारले स्थानीय उत्पादनलाई ब्राण्डिङ गरी बजारीकरणमा सहयोग गर्ने नीति बनाएको बताए । उनले सोही नीतिमार्फत प्रदेशमा दुईलाख युवाहरुलाई रोजगारी सिर्जना गर्न सकिने बताए । उनले भने, ‘हामीले सबै कुरा जानेका हुँदैनौ । मञ्चमा यहाँहरुले राखेका कुराहरु बेलाबेलामा फोन÷भेटमार्फत समेत अवगत गराइदिन म आग्रह गर्दछु ।’
मन्त्री पाण्डेयले सिद्धार्थ सञ्जाल, रुपन्देहीले विभिन्न संघ–संस्थालाई जोडेको भन्दै आगामी दिनमा प्रदेश सरकारले सञ्जालसँग सहकार्य गर्दै सल्लाह–सुझाव लिएर अघि बढ्ने बताए । उनले आर्थिक मन्दी नेपालमा मात्र नभइ विश्वव्यापी रुपमा रहेकाले अर्थतन्त्रमा क्रमशः सुधार हुँदै जाने विश्वास व्यक्त गरे ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सामाजिक परिवर्तनको पक्षमा सिद्धार्थ सञ्जाल, रुपन्देहीले काम गर्ने विश्वास व्यक्त गरिन् । उनले पर्यटन क्षेत्रको विकासको आवश्यकता रहेकोमा जोड दिदै यसका लागि ‘टुर प्याकेज’ बनाउन व्यवसायीलाई आग्रह गरिन् । उनले पर्यटकले भारु २५ हजार मात्र बोकेर आउन पाउने प्रावधानलाई बढाउनुपर्ने र यसका लागि पहल गरिदिन गृहमन्त्री पाण्डेयलाई आग्रह गरिन् ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले समस्याका चाङ रहेको बताए । उनले आर्थिक क्षेत्र चलायमान हुन नसकेको बताए । उनले भने, देश आत्मनिर्भर होस्, विदेश पलायन हुने अवस्था नआओस् भन्ने हामी कामना गर्दछौं ।
सञ्जालका सल्लाहकार डा. शान्त कुमार शर्माले पर्यटक भित्रिने मुख्य नाका बेलहिया अस्तव्यस्त रहेको बताए । उनले १० वर्ष बितिसक्दा पनि बेलहिया–बुटवल ६ लेन सडकले पूर्णता पाउन नसकेको र निर्माण व्यवसायीलाई कारवाही समेत नभएको बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले सिद्धार्थ सञ्जाल, रुपन्देहीले छोटो समयमा रचनात्मक कार्यहरु गरेको बताए ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) की महासचिव लक्ष्मी अधिकारीले पीडाकाबीच चाडपर्व मनाउनुपरेको बताइन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय भैरहवाका महाप्रबन्धक हसंराज पाण्डेले विमानस्थलले निश्चय नै पर्यटन र आर्थिक क्षेत्रमा योगदान पुर्याउने बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्येन्द्र राज सुवेदी, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौला, सिद्धार्थ सञ्जाल रुपन्देहीका महासचिव संजय बजिमय, सचिव सचिन रोक्का, कोषाध्यक्ष सतिश कुमार कौशल (दीपक) लगायतले चाडपर्वको शुभकामना व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij