
आइतवार , कार्तिक ५, २०८०
भैरहवा, ५ कार्तिक ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.)ले संघ सरकारले प्रदेश सरकारलाई अधिकार दिन नखोजेको बताएका छन् । उनले अधिकार दिए संघ सरकार भन्दा प्रदेश सरकारले अझ राम्रो काम गरेर देखाउने दावी गरे ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) ले शनिबार भैरहवामा आयोजना गरेको विजया दशमी, दीपावली, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा छैठौं लुम्बिनी प्रादेशिक महोत्सवको सल्लाह–सुझाव कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले संघ सरकारको एउटा मन्त्रालय बराबरको प्रदेशको बजेट रहेको बताए । उनले उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण रहेकोले उद्योगी व्यवसायीलाई सम्मान गरेर उहाँहरुको मनोबल बढाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘तेस्रो मुलुकबाट आउने पर्यटक भन्दा भारतीय पर्यटकीय नेपालमा बढी पैसा खर्च गर्छन् । तर, भारतीय पर्यटक माथि विभेद गरिएको छ । भारतीय पर्यटकलाई विभिन्न बहानामा दुःख दिने काम भएको छ । ’ उनले यसबारे आफूले प्रदेश सरकारमा पनि आवाज उठाएको जानकारी दिए ।
मन्त्री गुप्ताले भने, ‘बारम्बार वर्षौसम्म शासन गरेका एउटै पार्टी र नेतालाई जिताउनु र विकल्प खोज्न नसक्नु हाम्रो पनि कमजोरी हो । समाजमा बसिकेपछि सबै मिलेर अघि बढ्नुपर्छ । जबसम्म हामीमा परिवर्तन हुँदैन तबसम्म देशमा परिवर्तन आउन सक्दैन । ’ उनले गलत कार्यको विरोधमा आवाज उठाउन आग्रह गर्दै त्यसमा आफूले पनि साथ दिने बताए ।
मन्त्री गुप्ताले पार्टी भन्दा माथि उठेर देशको लागि सोच्ने बेला आइसकेकोमा जोड दिए । आफूलाई सामाजिक विकास मन्त्रीसम्म पुर्याउन क्षेत्रबासीको योगदान रहेको उनको भनाइ छ ।
आगामी मंसिर ६ गतेदेखि भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० बारे आफूले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग कुरा गरिसकेको बताए । हाल पर्यटन मन्त्रालय मुख्यमन्त्रीको मातहत रहेको पर्यटन र कृषि मन्त्रालयबाट सहयोग गर्ने र महोत्सवमा प्रदेश सरकारको सहभागीता रहने मुख्यमन्त्रीले प्रतिवद्धता जनाउनुभएको मन्त्री गुप्ताले बताए । उनले भने, ‘दशैंपछि महोत्सवबारे सल्लाह गर्छौं र सहयोग गछौंं । ’ मन्त्री गुप्ताले कुनै एउटा जिल्ला र प्रदेशलाई मात्र राम्रो बनाएर नहुने भएकाले ७७ वटै जिल्लाको विकास गरे मात्र सिंगो मुलुकको विकास हुन सक्ने बताए । उनले सामाजिक मन्त्रालयमा कुनै नेताको बजेट नभइ जनताको पैसा भएकोले जनताको विकासका लागि उपयोग गरिने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij