
आइतवार , कार्तिक ५, २०८०
भैरहवा, ५ कार्तिक ।
भैरहवामा ९१ औं लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिंग (तालिम) कार्यक्रम सम्पन्न भएको छ । शनिबार कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर डा. जीवलाल सापकोटाले ‘शिक्षा र शिक्षकको समाजमा भूमिका विषयक’ विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा उनले आफ्नो ४० वर्षको शिक्षण पेशाको अनुभव सुनाए ।
उनले भने, ‘हरेक विषयमा नयाँनयाँ खोज भइरहेकोले शिक्षकहरु कक्षाकोठामा पढाउन जाँदा आफुले पनि पढेर जानुपर्छ । साथै विद्यार्थीको भावना बुझेर पढाउन सक्नुपर्छ । ’ विशेष अल्फा उमेर समूहका विद्यार्थीहरुको मनोभावना बुझेर पढाउनका निम्ति शिक्षकको थप महत्व भएको उनले बताए । सापकोटाले शिक्षा, शिक्षण र शिक्षकका बारेमा महत्वपूर्ण विचार राख्नुभएको तालिमका सहजीकरण सहयोगी अभिनव मयुर कसौधनले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका प्रमुख समेत रहेका सापकोटाले उनको कार्यकालमा अंग्रेजी र नेपाली विषयको समन्वय गर्दै विश्वविद्यालयमा त्यसैअनुसार कोर्स तयार गर्न लागेको पनि बताए ।
एसियन बुद्ध होटलमा आयोजित तालिम कार्यक्रमका अध्यक्ष सिद्धार्थ सञ्जाल, रुपन्देहीका कार्यसमिति सदस्य हरिश सेठियाले तालिमले समाजलाई रचनात्मक मार्गमा डोर्याएको बताए । उनले चाडपर्वको बेलामा पनि उपस्थित भएकोमा सबैलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रम संयोजक सामाजिक अगुवा रामबहादुर थापाले उपस्थितिलाई कविताबाट स्वागत गरेका थिए ।
रन्जन पन्थीको सञ्चालनमा भएको कार्यक्रममा विप्रेषण विज्ञ धिरेन्द्र पन्तले शुभकामना व्यक्त गर्दै नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको अवस्थाबारे जानकारी गराए ।
लिडरसीप तालिमका सदस्यहरुका घरपरिवारमा अध्यनरत विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न पेशाका ४० भन्दा बढी सहभागीहरु भएको तालिम व्यवस्थापन समितिका सदस्य विरेन्द्र ज्ञवालीले बताए ।
लिडरसीप स्किल्स डेभलपमेन्ट तालिम निःशुल्क रुपमा सञ्चालन हुँदै आएको छ । तर, इच्छुकले योगदान गर्छन् । ९१ श्रृंखलाको निम्ति सिद्धार्थनगर–६ स्थित गल्लामण्डीका खाद्यान्न व्यवसायी दीपक जयसवालले सौजन्य गरी योगदान गर्नुभएको तालिम व्यवस्थापन समितिका सदस्य त्रिलोकी तेलीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij