२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

भैरहवाको दशैं सस्तो बजारमा ५० लाखको कारोबार, २७ हजारद्वारा अवलोकन

सोमवार , कार्तिक ६, २०८०

भैरहवा, ६ कार्तिक ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित दशैं सस्तो बजार–२०८० मा ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । असोज २७ देखि कार्तिक ४ गतेसम्म सिद्धार्थनगर–१२ कालिकापथस्थित संघ परिसरमा सञ्चालित बजारमा ५० लाख रुपैयाँ बराबरको कारोबार भएको अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार बजारको २७ हजार जनाले अवलोकन गरेका छन् ।

स्वदेशी तथा गुणस्तरीय वस्तु एवं सेवाहरुको उपभोगप्रति सचेत गराउने तथा चाडपर्वहरुमा आम उपभोक्ताहरुलाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गर्ने उद्देश्यले बजार सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले बताए । 

विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुको सहभागीता रहेको बजारमा ३० वटा स्टलहरु रहेको संघकी कार्यकारी सचिव कमला बस्नेतले बताइन् । बजारमा चाडपर्वलाई झलकाउने गरी सजावट तथा पिङको व्यवस्था गरिएको बस्नेतले जानकारी दिइन्।

बजारमा उपभोक्तालाई विभिन्न सामान खरिद गर्दा छुट प्रदान गरिएको संघका कार्यसमिति सदस्य तथा बजार संयोजक अर्जुन कार्कीले बताए । बजारमा निःशुल्क आँखा परीक्षणको व्यवस्था समेत रहेको थियो ।

392952657_2947806288687258_1426276955374874173_n.jpg

दशैं सस्तो बजारको असोज २८ गते लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका थिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघले पहिलोपटक वि.सं. २०५८ साल कार्तिक १ देखि ६ गतेसम्म भैरहवा नमूना उच्च माध्यमिक विद्यालय परिसरमा दशैं बजार, कार्तिक २४ देखि २६ गतेसम्म संघ परिसरमा तिहार बजार सञ्चालन गरेको थियो । त्यस्तै दोस्रोपटक वि.सं. २०५९ साल असोज २१ देखि २६ गतेसम्म र तेस्रोपटक वि.सं. २०७९ साल असोज ११ देखि १४ गतेसम्म संघ परिसरमा दशैं बजार सञ्चालन गरेको थियो ।