२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको लुम्बिनी भ्रमणको तयारी 

शनिवार , कार्तिक ११, २०८०

भैरहवा, ११ कार्तिक ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको बुद्ध जन्मस्थल लुम्बिनीमा हुने भ्रमणको तयारी थालिएको छ । नेपालको चारदिने भ्रमणका क्रममा कार्तिक १४ गते बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि समय तय भएपछि लुम्बिनी विकास कोषले तयारी सुरु गरेको हो । 

कोषले शनिबार लुम्बिनी साँस्कृतिक नगरपालिका, भिक्षुभिक्षुणीसहित सरोकारवालाहरुसँग बैठक गरी महासचिव गुटरेसको भ्रमणलाई भव्य बनाउनेबारे छलफल भएको छ ।  

महासचिव गुटरेस प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को निमन्त्रणमा कार्तिक १२ (अक्टोबर २९) मा नेपाल आउने तय भएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष, संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले महासचिव गुटरेसको लुम्बिनी भ्रमण भव्य बनाउने गरी तयारीमा जुट्न आग्रह गरे । महासचिवको भ्रमणले लुम्बिनीबाट विश्व शान्तिको सन्देश विश्वभर दिन सकिने उनले बताए । महासचिव गुटरेसलाई प्रधानमन्त्री प्रचण्डले सँगै  लिएर आउनेछन ।

१४ गते बिहान ८ः३५ बजे भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने र त्यहाँबाट हेलिकप्टरमा सिधै लुम्बिनी आउने प्रारम्भिक कार्यक्रम बनेको छ । महासचिव गुटरेसलाई हेलिप्याडदेखि चार नम्बर गेट, शान्तिदीप हुँदै मायादेवी मन्दिरसम्म जाने बताइएको छ । 

बैठकमा कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराई, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरूद्दीन मुसलमान, नगर उपप्रमुख कल्पना हरिजन, कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको उपस्थिति रहेको थियो । 

यसअघि महासचिव गुटरेसले अक्टुबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो। तर, अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उक्त भ्रमण स्थगित गरिएको थियो । गुटरेसले कात्तिक १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका पनि तय भएको छ ।

महासचिव गुटरेस सन् १९९५ देखि २००० सम्म पोर्चुगलका प्रधानमन्त्री थिए । संयुक्त राष्ट्रसंघको महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो । उनी पहिलो कार्यकालका लागि सन् २०१६ मा महासचिवमा नियुक्त भएका थिए।  

यसअघि सन् २००८ संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुनले नेपाल भ्रमण गरेका थिए । त्यतिखेर पनि मुनले लुम्बिनी भ्रमण गरेका थिए ।