
आइतवार , कार्तिक १२, २०८०
भैरहवा, १२ कार्तिक ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनतालाई सास्ती हुने काममा कांग्रेस साक्षी बस्न नहुने बताएका छन् । उनले गठबन्धन सरकारले राम्रो काम गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य महरले भने, ‘सरकारले गरेको अयोग्यताका जम्मै भारीहरु कांग्रेसको काधमा बोकाउने, जस कांग्रेसले नपाउने अवस्थामा पार्टी सरकारमा रहिरहनुको कुनै औचित्य हुँदैन । सधैभरी सत्तामा बस्नुपर्दैन । ’
उनले गठबन्धनका सन्दर्भमा आफ्नो फरक दृष्टिकोण रहेको बताए । उनले सांसदमा जित्ने निश्चित भएका केही नेताको प्राथमिकतामा गठबन्धन परेको बताए । उनले गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नो हैसियत बिर्सन नहुने बताए । उनले कांग्रेसलाई रुखमा मात्र भोट माग्ने पार्टी बनाउनुको विकल्प नरहेको दावी गरे ।
नेता महरले जहिले पनि एउटै व्यक्तिले अवसर पाउनु भन्दा पनि अवसरको न्यायोचित वितरण आवश्यक रहेकोमा जोड दिए । जहिले पनि एउटै व्यक्तिले मात्रै अवसर पाउने र छोड्दै नछोड्ने हो भने ८ लाख ६६ हजार कांग्रेसका क्रियाशिल सदस्यले के गर्ने भन्दै उनले प्रश्न गरे ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वअध्यक्ष समेत रहेका नेता महरले अर्थतन्त्र जटिल अवस्थामा रहेको बताए । अर्थतन्त्रमा समस्या खडा भएको उनको भनाइ छ । उनले ढिलो न्याय दिनु भनेको अन्याय भएको बताए । उनले अदालतको निर्णयलाई कांग्रेसले मान्दै आएको बताए ।
कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण नेपाल विद्यार्थी संघ र नेपाल तरुल दलसँगै गृह र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको अनुभवप्राप्त र खारिएको नेता भएको उनको भनाइ छ ।
कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको सभापतित्व, पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरको प्रमुख आतिथ्यता, क्षेत्र नम्बर ३ का सचिव भवानी प्रसाद शर्माको स्वागत तथा सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, सियारी गाउँपालिका उपाध्यक्ष तारा थारु, कांग्रेस सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का, शुद्धोधन गाउँपालिका सभापति दामोदर पौडेललगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij