भैरहवा। सरकारले २०६६ साल माघ १० मा तामझामका साथ कार्यक्रम गरी सन २०२० को अन्तसम्ममा नेपालबाट कुष्ठरोग निवारण गर्ने घोषणा ग¥यो।
सरकारले प्रति दश हजार नागरिकमा कुष्ठरोगीको संख्या एक जनामा झार्ने सरकारी रणनीति पनि बनायो। तर, सरकारी रणनीति रुपन्देहीमा सफल हुन सकेको छैन। रुपन्देहीमा प्रति दश हजार जनसंख्यामा कुष्ठरोगीको संख्या १ दशमलव १९ पुगेको छ।
कारोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनामा सक्रियता भन्ने मुल नाराका साथ आज ६८ औ बिश्व कुष्ठरोग दिवस मनाईदै छ।
जिल्लामा पुष अनतीम सम्ममा १ सय ४१ जना कुष्ठरोगी उपचारमा रहेका छन्। आर्थिक वर्ष २०७६÷०७७ को असारसम्म १ सय २६ जना कुष्ठरोगी रहेको रुपन्देहीमा त्यो बठेर अहिले १ सय ४१ मा पुगेको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ठ निरीक्षक टिकाराम अधिकारीले ०७७ साउन देखि कार्तिक सम्ममा ४६ जना नयाँ बिरामी फेला परेको जानकारी दिए। अघिल्लो आवका ३१ जना विरामी भने उपचारपछि निको भएका छन्। टिकाराम अधिकारीका अनुसार पहिले देखि नै कुष्ठरोगी भएका स्थानमा नयाँ बिरामी फेला परेका छन्।
नयाँ थप भएका ४६ कुष्ठरोगी मध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिमा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। तथ्यांकअनुसार बुटवलमा १०, तिलोत्तमा ५, देवदहमा ६, रोहिणीमा ५, सिद्धार्थनगरमा ४, मायादेवी गाउँपालिमा २, कंचनमा ३, ओमसतियामा २, सम्मरीमाईमा २, लुम्बिनी सांस्कृति नगरपालिमा २, सियारी र कोटहीमाई गाउँपालिकामा १÷१ जना फेला परेका छन्। रुपन्देहीका १० बटा पालिकामा कुष्ठरोगका बिरामी अहिले पनि निवारण दर भन्दा माथि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
नेपालमा १ हजार ८ सय ५३ जना नयाँ बिरामी देखा परेका छन्। असार अन्तीम सम्ममा उपचारमा २ हजार ४४ जना रहेकोमा १ सय ४१ जना १४ बर्ष मुनिका बच्चा तथा ७ सय ७० जना महिला रहेका छन्।
सरकारले सवै जिल्लाहरुमा कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसंख्यामा १ भन्दा कम गर्ने लक्ष लिए पनि तराईका जिल्लाहरुमा विरामी भने बढीरहेका छन्। सरकारले कुष्ठरोगीको निःशुल्क उपचार गर्दै आए पनि विरामीहरु रोगबारे खुल्न नचाहेका कारण निवारणमा समस्या आएको स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले बताए। उनले भने, ‘हामीले कुष्ठरोगसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेका छौं। गाउँगाउँमा अभियान लगिएको छ । तथापी विरामीहरु खुल्न नचाहँदा पहिचान गरी उपचार गर्न समस्या परेको छ।’
स्वास्थ्य कार्यालयका अनुसार कुष्ठरोगका विरामी तथा कुष्ठ प्रभावितहरु प्रति सामाजिक बेदभावलाई शुन्य बनाउन नसक्दा पनि उनीहरु रोगबारे खुल्ने गरेका छैनन्। ‘कुष्ठरोग प्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सही जानकारी दिने तथा प्रचार प्रसार गर्ने काम हामीले गरेका छौं’, डा. गिरीले भने, ‘रोगको शंकास्पद विरामीलाई रोग निदानका लागि स्वास्थ्य संस्थामा पठाउन आग्रह गर्दछौं।’ उनले कुष्ठरोगको वारे सामाजिक भ्रम हटाई सत्य तथ्य जानकारी दिन सबैलाई आग्रह समेत गरे।
कृष्ठरोग लागेमा शरीरको कुनै भागमा छुदा थाहा नहुने र फुस्रो वा हल्का रातो दागहरु देखा पर्ने सुरुको चिन्ह हो। यसबाहेक अनुहार र कानका लोतीमा ग्रिखा देखिनु, छाला चम्किलो वा बाक्लो हुनु तथा आँखी भौं झरेर जानु कुष्ठरोगमा चिन्हहरु हुन्। समयमै यसबारे पहिचान नगरे पछि गएर हात खुट्टाका औंलाहरु कमजोर हुँदै गई खुम्चने र अन्तमा अंगभंग हुनसक्ने सम्भावना हुन्छ। कुष्ठरोगको औषधि सबै स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुन्छ।