२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

लुम्बिनी पुगेर राष्ट्रसंघका महासचिवले भने–द्वन्द्व रोक्न हातेमालो गरौं

मंगलवार , कार्तिक १४, २०८०

  • 952
    Shares
  • 952
    Shares
  • भैरहवा, १४ कार्तिक । 
    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आव्हान गरेका छन् । मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि बोल्दै उनले भने, ‘विश्वभर भइरहेका द्वन्द्व अन्त्यका लागि आव्हान गर्छु ।’

    ‘शान्ति र मानवता अपरिहार्य विषय हो मानवीयता मर्न दिनुहुन्न, बुद्धका सन्देश, पञ्चशील सिद्दान्त र संयुक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो छ । यो शान्तिको मुहानबाट सबैले सिकौं, लुम्बिनी घुमौं’ गुटेरेसले भनेका छन् । 

    बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उनले जलवायु परिवर्तनले पारेको असरप्रति चिन्ता व्यक्त गरेका छन् । इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भएको द्वन्द्व अन्त्य गर्न उनले आव्हान गरे ।

    मंगलबार लुम्बिनी आएका गुटेरेसले शान्ति दीपमा दीप प्रज्ज्वलन गरेका थिए । त्यस्तै गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरे भने शान्ति दीपबाट मायादेवी मन्दिरसम्म पैदल गएका थिए । उनले परिसरमा वृक्षरोपणसमेत गरेका छन् । 

    WhatsApp Image 2023-10-31 at 2.02.25 PM.jpeg

    लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूहले शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका थिए ।

    महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याला लामा लगायतले स्वागत गरे ।