२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

ब्याजदर घटाउन र किस्ता–ब्याज बुझाउने अवधि बढाउन ईट्टा उद्योगीको माग

बुधवार , कार्तिक १५, २०८०

भैरहवा, १५ कार्तिक । 
रुपन्देहीका ईट्टा उद्योगीले बैंकको ब्याजदरलाई एकल अंकमा राखी कर्जाको सांवा र ब्याजको किस्ताबुझाउने अवधि थप गर्न माग गरेका छन् । उनीहरुले कर्जाको सांवा र ब्याजको किस्ता बुझाउने अवधि २०८२ साल असार मसान्तसम्म कायम गर्ने गरी ईट्टा उद्योगीहरुको निर्विकल्पीय माग कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले जिल्ला प्रशासन कार्यालयमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाउँदै यस संकटपूर्ण अवस्थाको गम्भिर्यतालाई हृदयंगम गरी तत्कालको लागि चालू आर्थिक वर्ष ०८०।८१ मा ईट्टा उद्योगहरुलाई विशेष राहतका लागि तिर्नुपर्ने आयकरमा ६० प्रतिशत छुटको व्यवस्था आगामी बजेटमा गरिदिन समेत आग्रह गरेको छ ।

उद्योग परिसरमा नै ठूलो परिमाणमा ईट्टा स्टक रहँदा ईट्टा उद्योगी व्यवसायीहरुमा चरम वित्तीय संकट सिर्जना भएको र यस्तो अवस्थामा उद्योगीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज तोकिएको भाखामा नै बुझाउन नसकेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका महासचिव दिपक पौडेलले बताए ।

बैंक तथा वित्तीय संस्थाहरुवाट ऋण लगानी, पुर्नकर्जा लगानी हुन नसकेकोले उद्योगी व्यवसायी एवं आम सर्वसाधारणले सहज तरिकाले कर्जा पाउन नसक्दा र विगतको कोभिड महामारीको असर तथा रसिया–युक्रेन र इजरायल–प्यालेस्टाइन युद्धका कारणले वैदेशिक रोजगारीबाटसमेत नेपाल भित्रिनुपर्ने रेमिट्यान्समा ह्रास आउँदा भौतिक संरचना निर्माणको गति प्राय ठप्प हुन गइ निर्माण सामग्रीहरुको माग न्यून अवस्थामा रहेकोले विगत २/३ वर्ष अगाडिबाट उत्पादित ईट्टासमेत विक्रीवितरण हुन नसकेको संघले जनाएको छ । 

‘जिल्लामा सञ्चालित ईट्टा उद्योगहरुमाथि मडारीरहेको आर्थिक संकटको कालो बादल हटाउन माननीय मन्त्रीज्यूबाट पहल हुनेछ भन्ने विश्वास लिएका छौं । ऋण उपलब्ध गराउने वित्तीय संस्थाहरुले ईट्टा उद्योगीहरुले लिएको ऋणको किस्ता र ब्याज बुझाउन ताकेता गर्दा भाखा भित्र सावां र ब्याजको किस्ता बुझाउन नसक्दा धितो सुरक्षणवापत बैंक तथा वित्तीय संस्थालाई दिएको जेथाजमानी (घरजग्गा) लिलाम विक्रीको प्रक्रियालाई अगाडि वढाउंदै उद्योगीहरुको उठीबास गराउने काम भइरहेको छ, ‘ज्ञापनपत्रमा उल्लेख छ ।

ईट्टा उद्योगहरु सञ्चालनको संख्यामा ह्रास आएको र उद्योग सञ्चालनमा नैराश्यता छाउनुमा कोइलाको मूल्यवृद्धि, कोइला खरीद गर्दा अग्रिम रकम पठाउनुपर्ने प्रावधानले गर्दा कोइला सप्लायर्सले रकम प्राप्त गरिसकेको आधारमा न्यून गुणस्तरको कोईलाको आपूर्ति गर्ने गरेको र उद्योगीहरुमा वित्तीय संकटका कारण विषम परिस्थिति सिर्जना भएको संघका महासचिव दिपक पौडेलले बताए । आर्थिक संकटको अवस्थालाई मनन गरी ईटा उद्योगीहरुलाई पर्न गएको वित्तीय संकटलाई सम्बोधनको लागि पहल गरिदिन ज्ञापनपत्रमार्फत अर्थमन्त्रीलाई आग्रह गरिएको पौडेलले बताए ।

२०७६ सालको कोभिड–१९ संक्रमणको समयदेखि नै ईट्टा उद्योग सञ्चालनको अवस्था दयनीय रहेको उनले बताए । उनका अनुसार २०७७ सालमा पनि कोभिड–१९ को संक्रमणको अवस्था यथावत जस्तै रहेकोले सो वर्ष पनि पर्याप्त कामदारहरु नआएकाले जिल्लामा सञ्चालित धेरैजसो ईट्टा उद्योगहरु बन्द नै रहेका थिए । जसले गर्दा करिब ६० प्रतिशत मात्र ईट्टा उद्योगहरु सञ्चालन भएका थिए । 

‘आर्थिक वर्ष २०७८/७९ र २०७९/८० सम्म पनि जिल्लामा रहेका ईट्टा उद्योगहरुमध्ये २५ प्रतिशत मात्र उद्योगहरु सञ्चालनमा आएका र त्यसरी सञ्चालित उद्योगहरुले पनि ५०/६० प्रतिशत अर्थात २-३ राउण्ड मात्र ईट्टा उत्पादन गरी उद्योग बन्द गर्नुपरेको थियो, ’पौडेलले भने । 

भौतिक संरचना निर्माणको लागि आवश्यक सामग्रीहरुमध्ये ईट्टा प्रमुख वस्तुमा पर्दछ । देशभर उत्पादित ईट्टाले यसको माग परिपूर्ति गर्दै आएको छ । जसले गर्दा ईट्टा आयात गर्नुपर्ने अवस्था नरहेको उद्योगी बताउँछन् । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका महासचिव पौडेलका अनुसार उद्योग सञ्चालनको समयमा बेमौसमी वर्षाले ठूलो परिमाणमा कांचो ईटा नष्ट भइ लगानी डुब्ने र कामदारहरुलाई पेश्की वितरण गर्नुपर्ने भएकोले लगानी जोखिम उद्योगको रुपमा पनि लिइन्छ । 

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले नेपालका अधिकांश ठूला तथा साना सबै उद्योगहरु आर्थिक संकटमा रहेको बताए । उनले भने, ‘यो सन्दर्भमा यस जिल्लामा ईट्टा उद्योगी व्यवसायीहरु आर्थिक चपेटामा परेको विषय हो । उद्योगी व्यवसायीद्वारा बुझाइएको यस ज्ञापनपत्रलाई हामीले आजै अर्थ मन्त्रालयमा पुग्ने गरी उचित सम्बोधनका लागि प्रयास गर्छौं ।’

ज्ञापनपत्र संघका कार्यवाहक अध्यक्ष सुनिल कुमार सिन्धीले हस्तान्तरण गरेका थिए ।