२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

‘प्रहरी मेरा लागि भगवान जस्तै बने’

बिहिवार , कार्तिक १६, २०८०

महोत्तरी, १६ कार्तिक । 
प्याट्रोलिङ्गको क्रममा बर्दिवासमा प्रहरीले भेटाएको ९ लाख रुपैयाँ जिम्मा लगाईएको छ । अनुसन्धानको क्रममा उक्त पैसा महतो किराना पसलका संचालक जगदिश महतोको एकिन भएपछि महतोलाई हस्तान्तरण गरिएको हो । उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडका, व्यवसायीहरु गुन्ज कार्की, ज्ञान बहादुर राउत, पत्रकार लगायतको रोहवरमा महतोलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

कालो झोलाभित्र रहेको ९ लाख ५ सय ६२ रुपैयाँ महतोलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवले जानकारी दिए ।

कसरी फेला परेको थियो ?

गत ३ असोजको राती इलाका प्रहरी कार्यालय गौरिडाडाको प्रहरी बिट भोला वसन्त चोकबाट प्रहरी जवान अजय मण्डल प्याट्रोलिङ्ग गरिरहेका थिए । प्याट्रोलिङ्गको क्रममा ५० मिटर पर महतो किराना पसल नजिक पुगेपछि उनले एउटा कालो झोला देखे ।

झोलालाई आफैले बोकेको लौरोले यताउता चलाए । खासै शंकास्पद नभएको अनुमान लगाएपछि सोही लौरोले ताने अनि खोलेर हेरे । खोलेर हेरेका मात्र थिए, झोलाभरी पैसा नै पैसा देखेपछि उनी झसङ्ग भए । तत्काल प्रहरी बिटका इन्चार्ज असई मनसुरी गदिलाई जानकारी गराए । गदिले इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवलाई जानकारी गराए ।

यादवले केही स्थानीयहरुको रोहवरमा पैसा गन्नु र गनेको पैसाको भिडियो पनि बनाउन निर्देशन दिए । गन्ने क्रममा महतो किराना पसलको केही बीलहरु पनि भेटिए । पैसा गनिसक्दा जम्मा ९ लाख ५ सय ६२ रुपैयाँ रहेको एकिन भयो । भोलीपल्ट बिहान ९ लाख भेटाएको विषयमा निक्कै खैलावैला भयो । महतो किराना पसलको केही आधारहरु देखिएपछि स्थानीयहरुले महतोलाई पनि जानकारी दिए । हप्ता दिनसम्म महतोबाहेक दावी गर्न नआएपछि प्रहरीले उनको पैसा भएको निष्कर्ष निकाल्दै सोमबार पैसा जिम्मा लगाएको हो ।

महतो भन्छन : प्रहरी मेरा लागि भगवान जस्तै बने
पैसा हराएको थाहा पाएदेखि निक्कै चिन्तित बनेका महतोले प्रहरीको इमान्दारिता माथि नतमस्तक भएको बताए ।
‘व्यापार भएको पैसा र अन्य पैसा भोलिपल्ट बैंकमा राख्ने भनेर स्टाफलाई भनेको थिए, झोला त बिर्सेर बाहिर नै छाडेछु, ’उनले भने ।

पैसा यदि प्रहरीलेबाहेक अरुले भेटाएको भए भेटन निक्कै मुस्किल पर्ने बताउँदै उनले यो खुसियालीमा प्रहरी बिट तथा केही भौतिक संरचना बनाइदिने घोषणा गरेका छन् । २५ हजार बरावरको प्रहरीको लागि संरचना बनाइदिने महतोले बताए ।
ब्यापार मन्दीको यो समयमा त्यति ठुलो रकम फेला पार्ने प्रहरी जवान मण्डललाई उनले धन्यवादसमेत दिएका छन् ।  

प्रहरीले सर्वसाधारणको साथी मात्र होइन, गतिलो भरोसा हो भन्ने विषयलाई प्रहरी जवानले देखाएको जिम्मेवारीप्रतिको इमान्दारिताले प्रमाणित गरेको स्थानीयहरुको तर्क छ ।