२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीले बनायो वार्षिक कार्ययोजना

शनिवार , कार्तिक १८, २०८०

भैरहवा, १८ कार्तिक ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको वार्षिक कार्यशाला गोष्ठी शुक्रबार अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ स्थित डोहटेमा सम्पन्न भएको छ । डोहटेस्थित गुराँस जंगल रिसोर्ट एण्ड एग्रो फर्म प्रा.लि.मा भएको गोष्ठीले २९ बुँदे वार्षिक कार्ययोजना तय गरेको संगठनका अध्यक्ष रामप्रसाद पोख्रेलले बताए ।

कार्ययोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उचित सञ्चालनका लागि पहल एवं अन्तरक्रिया÷डेलिगेशन, सिद्धार्थ सडक खाना महोत्सव–२०८० भव्यताका साथ सम्पन्न गर्ने, व्यवसायिक दर्ता तथा नविकरणमा विशेष पहल गरी नयाँ दर्ता एवं नविकरणलाई प्राथमिकतामा राख्ने, विभिन्न संघ–संस्थाद्वारा गरिने पर्यटन प्रवद्र्धनका भेला गोष्ठीहरुमा संगठनको प्रतिनिधित्व गर्ने, संगठनका पदाधिकारीहरुका लागि सीप विकास तथा नेतृत्व विकास तालिमको आयोजना गर्ने, खाद्य शुद्धता तालिम र व्यवसायिक प्रतिष्ठान गरी स्तर निर्धारण गर्ने समावेश रहेको संगठनका महासचिव बाल बहादुर घिमिरे (सुनिल) ले बताए ।

त्यस्तै सिद्धार्थ बसपार्कलाई व्यवस्थित गर्ने गरी स्थानीय तहसँग समन्वय एवं पहल गर्ने, नयाँ वर्ष २०८१ को क्यालेण्डर प्रकाशन गर्ने, संगठनका सम्पूर्ण सदस्यहरुलाई व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वप्रति लगाव हुने गरी अभिमुखीकरण तालिम सञ्चालन गर्ने, पर्यटकको बसाइ लम्बाउने उद्देश्यका साथ विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी संगठनको अगुवाइमा पर्यटन प्रवद्र्धन गर्ने जस्ता कार्यक्रमको छलफल तथा अन्तरक्रिया गर्ने, होटल व्यवसायीहरुको गुनासोउपर छलफल गर्ने, सम्बन्धित निकायसँग पहल तथा पत्राचार एवं डेलिगेशन गर्ने र देउसीभैलो कार्यक्रम आयोजना गर्ने घिमिरेले जानकारी दिए ।

त्यसै गरी बेलहिया नाका र सिद्धार्थनगर नगरपालिकाभित्र रहेको ट्राफिक जाम, अव्यवस्थित पार्किङ र ठेला व्यवसाय व्यवस्थापन गरी यस क्षेत्रको सुन्दरीकरण बढाउन स्थानीय सरकार, ट्राफिक प्रहरी कार्यालय र अन्य निकायहरुसँग छलफल गरी संस्थाको अगुवाइमा पहल गर्ने, होटल व्यवसायीलाई मर्यादित गर्न, व्यवसाय सञ्चालमा आचारसंहिता, मेनु आइडीकार्ड, डे«स लागू अनिवार्य गरी प्रत्येक होटलको मेनु र कर्मचारी परिचयपत्रलाई अनिवार्य गर्ने, रात्रीकालीन होटल रेष्टुरेण्ट व्यवसाय सञ्चालन गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँग छलफल तथा समन्वय गर्ने, सम्पूर्ण स्पा सेन्टर, मसाज सेन्टरलाई व्यवसाय आचारसंहिताभित्र ल्याउन पहल गर्ने, संगठनले लागू गरेको व्यवसायिक राहत कोषको रकममा थप वृद्धिका लागि विभिन्न किसिमका आर्थिक उर्पाजनका लागि पहल गर्ने र दक्ष जनशक्ति उत्पादन र विदेश पलायन रोक्न कुक, वेटरलगायत तालिम व्यवस्थापनको लागि सम्बन्धित निकायबाट पहल गर्ने कार्यक्रम वार्षिक कार्ययोजनामा समावेश छ ।

त्यस्तै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न निकायसँग छलफल तथा अन्तरक्रिया, नयाँ वर्ष, शुभ दीपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने, बेलहिया तथा लुम्बिनी क्षेत्रभित्र आउने भारतीय पर्यटकलाई लक्षित गरी सूचना केन्द्र स्थापना गर्ने, संगठनको आफ्नै बेबसाइट बनाइ आन्तरिक पर्यटकीय स्थलहरुको पहिचान दिने र यहाँका स्थानीय गतिविधि प्रचारप्रसार गर्ने, साधारणसभा तथा वार्षिक कार्ययोजनाबाट कार्य र विगतमा गरिएको कार्यलाई निरन्तरता दिए÷नदिएको अनुगमन तथा मूल्यांकन गर्ने र अतिथि देवो भवः भन्ने भावसँगै होटल व्यवसायीहरुले होटल सञ्चालनमा ग्राहक र पर्यटनसँग हस्टिपालिटी मेनेटेन हुनुपर्ने र त्यसका लागि नाटा र पर्यटन कार्यालयसँग समन्वय गरी संगठनको भूमिकालाई प्रभावकारी बनाउने कार्ययोजनामा समावेश छ ।

त्यसै गरी पोलिथिनमुक्त शहरको अवधारण विकासको लागि होटलबाटै सुरुवात पहल र अनुगमन गर्ने, संगठनको नियमित बैठक प्रत्येक महिनाको दोस्रो शनिबार गर्ने र बैठकको नियमावली तथा आचारसंहिता पूर्ण पालना गर्नुपर्ने, समयको माग र संगठनको कार्य प्रगतिका लागि आवश्यक उपसमिति र क्षेत्र उपसमितिहरु चयन गरी जिम्मेवारी दिने, करको परिवर्तनका बारेमा आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरी कर शिक्षा सम्बन्धी कार्यक्रम गर्ने व्यवसायलाई मर्यादित गराउने उद्देश्यले स्थानीय प्रशासनको आग्रहमा आ–आफ्नो व्यवसायिक प्रतिष्ठानमा सीसीटिभी क्यामेरा जडानलाई निरन्तरता दिने र सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्ने वार्षिक कार्ययोजनामा समावेश रहेको संगठनले जनाएको छ । 

कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोख्रेल, पूर्वअध्यक्ष गणेश प्रसाद बेल्बासे, निवर्तमान अध्यक्ष पिताम्बर न्यौपाने (विष्णु), सल्लाहकार अर्जुन कुमार गिरी, विश्वराज बराल (अनुप), कृष्ण प्रसाद अधिकारी (सागर), प्रेस सल्लाहकार दीपेश पछाई, संगठनका सल्लाहकार तथा होटल व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव राजेश महोत्रा, आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपाने, लुम्बिनी मनिचेञ्जर व्यवसायी संघका अध्यक्ष ऋषिराम पाण्डेय, मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवाली, चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का उपाध्यक्ष राममिलन यादव, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका उपाध्यक्ष गोविन्द ज्ञवाली, सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीलगायतले बोलेका थिए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष रामप्रसाद पोख्रेलको अध्यक्षता, निवर्तमान अध्यक्ष पिताम्बर न्यौपाने (विष्णु)को स्वागत, उपाध्यक्ष नरेन्द्र खनालको धन्यवाद ज्ञापन तथा महासचिव बाल बहादुर घिमिरे (सुनिल)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा संगठनको कार्यसमिति सदस्यमा मनोनित सुमन न्यौपाने र कृष्ण प्रसाद ज्ञवालीले सपथ ग्रहण गरेका थिए ।