
शनिवार , कार्तिक १८, २०८०
तिलोत्तमा, १८ कार्तिक ।
एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्थाको शेयर पुँजी झण्डै ९ करोड पुगेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ स्थित मंगलापुरमा मुख्य कार्यालय रहेको संस्थाको शेयर पुँजी २०८० असार मसान्तसम्ममा ८ करोड ७८ लाख ७८ हजार पुगेको हो । गत वर्षसम्म संस्थाको शेयर पुँजी ८ करोड ६७ लाख ७० हजार रहेकोमा यस वर्ष ११ लाख ८ हजार थपिएको हो ।
संस्थामा कुल शेयर सदस्य संख्या २३ सय ४१ पुगेको सहकारीका अध्यक्ष तारानाथ कंडेलले जानकारी दिए । त्यस्तै गत असार मसान्तसम्म सहकारीको बचत तथा निक्षेप ५५ करोड ९२ लाख ४४ हजार २ सय ११ रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६२ करोड ७० लाख ५० हजार १९ रुपैयाँ पुगेको छ । त्यस्तै सहकारीले गत असार मसान्तसम्म २ करोड ६३ लाख ५४ हजार ३ सय २ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।
शनिबार आयोजित संस्थाको २८ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशनमा बोल्ने सहकारी क्षेत्रका व्यक्तिहरुले एफइसी सहकारी सुशासन र पारदर्शीतामा अब्बल बन्दै गएको बताए । सञ्चालकहरुको देखिएको संस्थागत सुशानको भावनाले पछिल्लो समय धेरै सहकारीहरु संकटमा पर्दा समेत एफइसी बिचलित नभइ आर्थिक रुपले सुदृढ संस्थाको रुपमा विकसित हुँदै आएको उनीहरुको भनाइ छ ।
कार्यक्रममा बोल्दै सहकारीका जेष्ठ सदस्य हरिप्रसाद ज्ञवालीले पारदर्शीताले नै सहकारीको भविष्य निर्धारण गर्ने भएकाले यसतर्फ लाग्न सम्पूर्ण शेयर सदस्यहरुलाई आग्रह गरे ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष तारानाथ कंडेलले सहकारीका मूल्य, मान्यता अनुसार पुँजी वृद्धि, वित्तीय सुशासन, प्रविधि प्रयोग, कारोबारको भोलुम वृद्धि, सेवा केन्द्र विस्तार, लगानीका हिसाबले प्रभावकारी देखिएको उल्लेख गर्दै सहकारीले प्रभावकारी वित्तीय सेवा दिएको दावी गरे ।
साधारणसभामा संस्थाका उपाध्यक्ष झविन्द्रप्रसाद कंडेलले बैंकको विकल्पमा सहकारीले सेवा दिएका छन् । उनले कार्यक्षेत्र, सदस्य, पुँजी, कारोबारमा सहकारीले दायरा फराकिलो बनाएको बताए ।
सचिव निरज कँडेलले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गरिरहेका कामहरु र भावी कार्ययोजनाबारे प्रकाश पारेका थिए । त्यस्तै कोषाध्यक्ष धनेन्द्र पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले सुशासनलाई मुख्य प्राथमिकता दिएकै कारण सदस्यहरुको भविष्य सुरक्षित रहेको बताए ।
लेखा समिति संयोजक युवराज पाठकले परिवर्तित समय अनुसार बैंकसँग प्रतिष्पर्धा गर्नुपर्ने भएकाले डिजिटल कारोबारलाई सहकारीले प्राथमिकता दिएको भन्दै बचत तथा ऋणको कारोबार गर्ने सहकारी प्रविधि प्रयोग गरेर वित्तीय पारदर्शीतामा अब्बल बन्न सफल भएको बताए ।
संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले सहकारी मोबाइल बैंकिङलगायतका सुविधासँगै संस्थालाई प्रविधियुक्त बनाउँदै लगिएको र बेलाबेलामा सहकारी शिक्षा तालिममार्फत सदस्यहरुलाई सशक्तिकरण गर्दै लगिएको बताए ।
उनले उच्च आर्थिक हैसियतदेखि सामान्य नागरिकको पनि सहकारीमा सहभागीता रहेको भन्दै यसले सहकारीको पहुँच सबै क्षेत्रमा पुगेको बताए ।
कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार हरिप्रसाद कंडेल, सदस्य बेदप्रसाद कंडेल, इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुव धिताल, रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष शारदा पंगेनी, कुन्जपार्कका लोक पुन, साना किसान सहकारीका अध्यक्ष झुपा न्यौपाने, संस्थाका शेयर सदस्य रवि पोखरेल, रेडियो लुम्बिनीका कार्यकारी प्रमुख मिनाक्षी न्यौपाने, सम्मानितहरुको तर्फबाट सुमित ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस अवसरमा संस्थाका जेष्ठ सदस्य झविलाल पाण्डे, अन्तर्राष्ट्रिय कराँतेमा गोल्डमेडल बिजेता सहकारीका बाल बचतकर्ता सम्यक कंडेल, अन्तर्राष्ट्रिय कराँतेमै उपाधि बिजेता शेयर सदस्य शिवानी लम्साल, उत्कृष्ट कारोवारी घनश्याम पौडेल, उत्कृष्ट बचतकर्ता अशोककुमार शर्मा अर्याललगायत विभिन्न शैक्षित क्षेत्रका उत्कृष्टहरुलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij