
आइतवार , कार्तिक १९, २०८०
भैरहवा, १९ कार्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) को कार्यालयले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएको गएको भुकम्प पीडितहरुको पुनस्र्थापन, राहतलगायत कार्यका लागि २२ लाख ५४ हजार ५ सय रुपैयाँ र २ सय थान कम्बल पठाउने निर्णय गरेको छ ।
आइतबार बसेको नगर कार्यपालिकाको बैठकले भुकम्पले बढी क्षति पुर्याएको जाजरकोट र रुकुम पश्चिम जिल्लाका पीडितहरुका लागि दुवै जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्ड अनुसार पाँच/पाँच लाख रुपैयाँ प्रदान निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।
त्यस्तै बैठकले सिद्धार्थनगर नगरपालिका कार्यपालिकाका सदस्यहरु (जनप्रतिनिधि) ले १५ दिनको सुविधा बराबर ३ लाख १६ हजार रुपैयाँ, कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुको ५ दिनको पारिश्रमिक बराबर ७ लाख ७ हजार पाँच सय रुपैयाँ दुवै जिल्लाको विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्डअनुसार उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए ।
१५ दिनको सुविधासहित नगरपालिकाको प्रमुख इश्तियाक अहमद खानले आफूले पाउने ६ महिनाको सुविधा बराबरको दुईलाख ३४ हजार रुपैयाँ र उपप्रमुख उमा अधिकारीले एकमहिना सुविधा बराबरको ३३ हजार रुपैयाँ पनि उपलब्ध गराउने बताएका छन्।
बैठकले भुकम्पप्रभावित जिल्लाहरुमा राहत सहयोगका लागि सिद्धार्थनगर नगरपालिकाको कार्यालय वा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत मात्र राहत सामग्री संकलन वा रकम प्रदान गर्न आह्वान गर्ने निर्णय समेत गरेको छ । भुकम्पले मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेको कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij