
आइतवार , कार्तिक १९, २०८०
भैरहवा, १९ कार्तिक ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भुकम्पप्रभावित क्षेत्रमा पठाइने राहत तथा सहयोग कार्यलाई एकद्वार बनाउने निर्णय गरेको छ । आइतबार बिहान विपद् व्यस्थापन समितिको संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले राहत तथा सहयोगलाई प्रभावकारी बनाउनका लागि एकद्वार बनाउने निर्णय गरेको हो ।
रुपन्देही प्रशासनले जिल्लाका राजनीतिक दल, स्थानीय सरकारका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, संघ–संस्था तथा सरोकारवाहरुसँगको बैठक राखेर प्रचारमुखी र लोकप्रियताका लागि घोषणा गरिने राहतलाई निरुत्साहित गर्ने निर्णय समेत गरेको छ ।
शुक्रबार मध्यराति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्र बिन्दु बनाएर आएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति पुर्याएको थियो ।
कार्यालयले स्थानीय सरकार, संघ–संस्था तथा व्यक्तिले गर्ने सहयोगलाई जिल्ला प्रशासन कार्यालयमा संकलन गरी स्थानीय प्रशासनमार्फत प्रभावित क्षेत्रमा पठाउने निर्णय गरिएको प्रजिअ गणेश अर्यालले जानकारी दिए । उनले भुकम्प प्रभावित क्षेत्रमा तत्कालका लागि खाद्यान्न तथा लत्ताकपडाको अभाव रहेको बुझिएकाले सोहीअनुरुपको राहत सामग्री संकलन गरी पठाउन लागिएको बताए ।
खाद्यान्न तथा अन्य राहत सामग्री पठाउनका लागि दुईवटा ट्रक समितिले ४ वटा ट्रक उपलब्ध गराउने र तत्काल ती ट्रकबाट खाद्यान्न तथा लत्ताकपडा पठाउन लागिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।
पहिलो चरणमा सियारी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका र बुटवल उपमहानगरपालिकाले संकलन गरेको राहत सामग्री पठाउन लागिएको अर्यालले जानकारी दिए ।
उनले बलाङकेट, म्याटरेस, दाल, चाम, तेल, आलु, चिनी, चिउरा, दालमोट, बिष्कुट र चाउचाउ पठाउन लागेको बताए ।
एक ट्रक सामाग्री बुटवल उपमहानगरपालिकाको संयोजनमा पठाउन लागिएको छ भने अर्को एक ट्रक सामग्री सियारी गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाको संयोजनमा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन लागिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij