२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

सियारी बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा

आइतवार , कार्तिक १९, २०८०

भैरहवा, १९ कार्तिक ।
सियारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सियारी–६ बर्दहवा, रुपन्देहीको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सियारी गाउँपालिका–६ स्थित होटल सत्कारमा भएको साधारणसभाको प्रमुख अतिथि सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले उद्घाटन गरेको थिए ।

सो अवसरमा बोल्दै अध्यक्ष घिमिरेले गाउँपालिकामा किसान कार्डको व्यवस्था गरिएको बताए । उनले कुनै पनि सहकारीलाई काखा र पाखा गर्नुहुँदैन भन्ने मान्यताका साथ अघि बढेको बताए । उनले भने, ‘सबै सहकारीको कार्यक्षेत्र र उद्देश्य एउटै छैन । बिउबिजन उत्पादन गरेर नेपालका विभिन्न क्षेत्रमा विक्री गर्दै आफूलाई उत्कृष्ट सहकारीको रुपमा स्थापित गर्ने संस्था सियारीमा छन् । ’

उनले आफ्नै टोल छिमेकमा रहेको र चिनेजानेका सञ्चालकहरु भएका सहकारी संस्थामा मात्र बचत गर्न आग्रह गरे । उनले धेरै ब्याज पाउने लोभमा सर्वसाधारणले आयातित सहकारीमा बचत गर्ने र बचत रकम समेत नपाउने अवस्थाका कारण सहकारी क्षेत्र बदनाम हुनु दुःखद भएको बताए । उनले यस वर्ष सियारी गाउँपालिकाले २५० दलित तथा अतिविपन्न परिवारलाई स्वास्थ्य बीमाको व्यवस्था गर्ने कार्यक्रम राखेको जानकारी दिए ।

त्यस्तै विशिष्ट अतिथि जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीले स्थानीय रुपमा नचिनिएका र धेरै टाढा ठेगानम भएका सहकारीप्रति विश्वास नरहेको बताए । उनले सहकारी संस्थामाथि विभिन्न आक्रमण भइरहेको बताए । उनले भने, ‘बैंक तथा सहकारीको ऋण तिर्नुपर्दैन भन्ने मानिसबाट सावधान हुनुस्, ऋण लिएपछि तिर्नुपर्छ ।’

सियारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बिक्रम भुज गुप्ताले संस्थामा हाल ७०७ जना शेयर सदस्यहरु रहेको बताए । उनले संस्थाले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सम्पूर्ण शेयर सदस्यहरुलाई १५ प्रतिशत शेयर लाभांश वितरण गर्ने कार्यसमितिको निर्णय भएको बताए । 

संस्थाका कोषाध्यक्ष धर्मेन्द्र थापाले आर्थिक वर्ष २०७९÷२०८० मा सहकारीले १ करोड १९ लाख ६१ हजार १ सय रुपैयाँ शेयर पूँजी तथा २ करोड ८५ लाख ७७ हजार १ सय ७६ रुपैयाँ बचत संकलन गरेको जानकारी दिए । त्यसै गरी ४ करोड ५७ लाख २९ हजार ५ सय ९६ रुपैयाँ कर्जा लगानी गरिएको उनले बताए ।

सहकारीका अध्यक्ष बिक्रम भुज गुप्ताको अध्यक्षता, सल्लाहकार तुलसा शर्माको स्वागत तथा सचिव राजन चौधरीको सञ्चालनमा भएको कार्यक्रममा समिप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्यनारायण यादव, निष्ठा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर गोदार, उत्तम महिला कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु क्षेत्री, नारी एकता महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुमा भुर्तेल, भृकुटी कृषि सहकारीका अध्यक्ष अविराम विक., सियारी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार बुद्धिराम हरिजनलगायतले बोलेका थिए । 

कार्यक्रममा असल कारोबारी दुईजना, असल बचतकर्ता एकजना, ज्येष्ठ नागरिक एकजना र एकल महिला दुईजनालाई सहकारीले सम्मान गरेको सचिव राजन चौधरीले बताए ।

कार्यक्रममा अध्यक्ष बिक्रम भुज गुप्ताले अध्यक्षको प्रतिवेदन, लेखा संयोजक धर्मराज यादवले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष धर्मेन्द्र थापाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।